भदौ २९ नुवाकोट । भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न ऐतिहासिक तथा पुरातात्विक सम्पदामा पुगेको क्षतिको विवरण संकलन एवं अभिलेखीकरण कार्य हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार अविरल वर्षापछिको बाढीले रसुवाको टिमुरे क्षेत्रका साथै नुवाकोटको ऐतिहासिक तीर्थस्थल बेत्रावती, त्रिशूली र देवीघाट वरपरका थुप्रै ऐतिहासिक तथा पुरातात्विक धरोहरहरू पुरिएका, छोपिएका र कतिपय स्थानमा बगाएको पाइएको छ। बाढीबाट पुगेको यकिन क्षतिको तथ्यांक लिन स्थानीय प्रशासनले सम्बन्धित पालिकाहरूसँग समन्वय गरेर विस्तृत विवरण संकलन कार्य गरिने उनले बताए ।
मानवीय क्षतिको विवरण नियमित रूपमा अद्यावधिक भइरहेको भए पनि भौतिक तथा पुरातात्विक संरचनाको क्षतिको विवरण तयार पार्न विशेष ढाँचा बनाएर स्थानीय तहहरूमा पठाइएको उनले बताए । पालिकाहरूबाट विवरण प्राप्त भएपछि कुन-कुन सम्पदा पूर्ण रूपमा बगे वा पुरिए भन्ने यकिन संख्या बाहिर आउनेछ उनले बताए ।
यसैबीच, पुरातात्विक सम्पदाको वास्तविक अवस्था पत्ता लगाउन र क्षति मापन गर्न पुरातत्व विभागको विशेषज्ञ टोली ड्रोनसहित प्रभावित क्षेत्रमा यसैसाता खटिने तयारीमा छ।
ड्रोन उडानका लागि आवश्यक प्रशासनिक अनुमति प्राप्त हुनासाथ उक्त टोली अध्ययन तथा प्राविधिक उत्खननका लागि क्षेत्रमा परिचालन हुने जनाएको छ।
स्थानीय तहले पठाएको तथ्यांक र पुरातत्व विभागसँग रहेको पुरानो अभिलेखलाई एकापसमा भिडाएर क्षति भएका धरोहरहरूको अभिलेखीकरण तथा पुनःस्थापनाको प्रक्रिया अघि बढाउने योजना बनाइएको उनले बताए ।