+
Search

ताजा अपडेट +

पपुलर +

बाढीबाट क्षतिग्रस्त नुवाकोटका दुई विद्यालय पुन: सञ्चालन गर्न नगर प्याब्सनको ध्यानाकर्षण

डबली खबर
५ मिनेट अगाडी

भदौ २८, नुवाकोट । भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण विदुर नगरपालिका क्षेत्रभित्रका दुई ठूला निजी विद्यालयहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

बाढीले विदुरस्थित त्रिशूली सामुदायिक बोर्डिङ स्कूल र उत्तरगया पब्लिक बोर्डिङ स्कूलको भवन, फर्निचर तथा सम्पूर्ण शैक्षिक सामग्रीमा व्यापक क्षति पुर्‍याएपछि पठनपाठन पूर्ण रूपमा ठप्प बनेको छ।

विपद्को यस्तो कठिन परिस्थितिमा विदुर नगरपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णयको स्वागत गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) विदुर नगर समितिले भौतिक पूर्वाधार र सुरक्षाको सुनिश्चितता नगरी विद्यालय पुन: सञ्चालन गर्न सम्भव नरहेको बताएको छ।

प्याब्सनका नगर अध्यक्ष रामराजा कुमालले क्षति भएको विद्यालय र नगर प्याब्सनसँग आवश्यक परामर्श तथा समन्वय नगरी विद्यालय सञ्चालनको निर्णय गर्दा सञ्चालक तथा अभिभावकहरूमा अन्योल सिर्जना भएको बताए ।

नगर प्याब्सनले बाढी प्रभावित विद्यालयहरूको स्थलगत निरीक्षण गरी क्षति मूल्याङ्कन गर्न र तत्काल बैकल्पिक भवन वा अस्थायी सिकाइ केन्द्रको व्यवस्था गर्न नगरपालिका समक्ष माग गर्दै ज्ञापनपत्र समेत बुझाएको छ ।

विद्यार्थी तथा शिक्षकको सुरक्षा, नयाँ फर्निचर र शैक्षिक सामग्रीको उपलब्धता नभएसम्म पठनपाठन सुचारु गर्न कठिन हुने भएकाले स्थानीय सरकारले अभिभावकीय भूमिका निर्वाह गर्दै तत्काल ठोस पहल र आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ