+
Search

ताजा अपडेट +

पपुलर +

विदुरमा सवारी अस्तव्यस्तता नियन्त्रण गर्न एकतर्फी यातायात र पार्किङमा कडाइ गरिने

डबली खबर
१ घण्टा अगाडी

भदौ ४, नुवाकोट । विदुर नगरपालिका क्षेत्रमा दिनप्रतिदिन बढ्दै गएको सवारी दुर्घटना र ट्राफिक जामलाई व्यवस्थित गर्न विदुर नगरपालिकाले कडा कदम चाल्ने निर्णय गरेको छ।

बालुवाटार क्षेत्रमा सञ्चालनमा रहेको बसपार्कमा सवारीसाधन प्रवेश नगरी मूल सडकमै यात्रु पर्खिने, लामो समयसम्म सवारी रोकेर राख्ने तथा मालवाहक सवारी साधनहरू सडक किनारमा अव्यवस्थित रूपमा पार्किङ गर्दा दुर्घटनाको जोखिम उच्च बनेको भन्दै नगरपालिकाले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलले बताए ।

नगर कार्यपालिकाको बैठकले बसपार्कभित्रै सबै सार्वजनिक सवारीसाधन प्रवेश गराई यात्रु पर्खिने व्यवस्था मिलाउने निर्णय गरेको छ।

नयाँ व्यवस्था अनुसार बट्टारदेखि त्रिशुली बजारसम्मको मुख्य सडकखण्डमा सार्वजनिक सवारी साधन पार्किङ गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

यस्तै, सवारी आवागमनलाई सहज बनाउन त्रिशुलीतर्फ जाने सार्वजनिक सवारी साधनहरूका लागि बसपार्क चोकबाट बसपार्क प्रवेश गरी घण्टाघर हुँदै संगमचोकबाट निस्कने एकतर्फी व्यवस्था मिलाइएको छ।

त्यसैगरी, बट्टारतर्फ फर्कने सवारीसाधनहरूका लागि संगमचोक-घण्टाघर-बसपार्क हुँदै दम्की बसपार्क चोक निस्कने गरी एकतर्फी मार्ग तोकिएको छ।

गत जेठ ७ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय, नुवाकोटका प्रतिनिधि तथा यातायात व्यवसायीहरूसँग भएको बैठकले गरेका निर्णयहरू पूर्ण रूपमा कार्यान्वयन नभएकाले यसपटक थप कडाइका साथ अघि बढ्न लागिएको जनाएको छ ।

अबदेखि बट्टार क्षेत्रका सबै टिकट काउन्टरहरू बसपार्कभित्र मात्र राख्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ। उक्त निर्णयहरू यथाशीघ्र पूर्ण रूपमा कार्यान्वयन गराउन विदुर नगरपालिकाले प्रशासन कार्यालयलाई औपचारिक पत्र पठाउँदै आवश्यक समन्वय र सहयोगका लागि अनुरोध गरेको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ