साउन ३१, नुवाकोट । परापूर्वकालदेखि परम्परागत रूपमा चलिआएको सांस्कृतिक पर्व लाखेनाचलाई अझ व्यवस्थित बनाउन बेत्रावतीका स्थानीय नेवार समुदायले ‘बेत्रावती लाखे समिति’ गठन गरेका छन् ।
शनिबार बेत्रावतीबजारमा आयोजित स्थानीय नेवारहरूको सामूहिक भेलाले एक घर एक सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो। भेलाले शशि डङ्गोलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा विद्या लक्ष्मी श्रेष्ठ, कोषाध्यक्षमा जुली डंगोल र सचिवमा सुरज लवट चयन भएका छन्। सदस्यहरूमा सुजन लवट, संजित डंगोल, मिलन श्रेष्ठ, निकेश लवट, गीता डंगोल, रबिना डंगोल, विवेक डंगोल, कृश्चल डंगोल र सुनिज लवट रहेका छन्।
समितिले मुख्य रूपमा लाखे सामग्रीको संरक्षण, लाखेनाच सिकाइलाई दिगो बनाउन नयाँ युवा पुस्ता र बालबालिकासँग समन्वय, जात्रा व्यवस्थापनमा स्वयंसेवी भूमिका निर्वाह तथा पुर्खाको संस्कृति–सम्पदा जोगाएर भावी पुस्तालाई हस्तान्तरण गर्ने लक्ष्य लिएको छ।