साउन ३०, थानाभन्ज्याङ (नुवाकोट) ।शिवपुरी गाउँपालिका–७ थानाभन्ज्याङस्थित टोखा–छहरे सडक खण्डमा शनिबार सवारी दुर्घटना हुँदा दुईको निधन भएको छ।
काठमाडौँबाट दुप्चेश्वरतर्फ जाँदै गरेको बा.प्र.०८-००१ ख ००५२ नम्बरको यात्रुवाहक बस बिहान करिब ८:२५ बजे सडक छेउमा रोकेर चालक र अधिकांश यात्रुहरू खाजा खान ओर्लिएका थिए। यात्रुहरू खाजा खाँदै गर्दा अचानक रोकिराखेको सो बस आफैँ गुड्न पुगेकोजिल्ला ट्राफिक कार्यालय नुवाकोटका प्रमुख विनोद ढकालले जानकारी दिए ।
नियन्त्रणबाहिर गएर गुड्न थालेको बसले आफ्नो अगाडि रोकिराखेको बा.प्र.०३-००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई जोडले ठक्कर दिएको उनले जानकारी दिए । ठक्करलगत्तै दुवै सवारी साधन सडकबाट करिब ३० देखि ४० मिटर तल भीरमा खस्न पुगेको उनले जानकारी दिए।
अधिकांश यात्रुहरू खाजा खान ओर्लिएका भए पनि ५ जना महिला यात्रु भने बसभित्रै बसिरहेका थिए।
दुर्घटनामा परी गम्भीर चोट लागेका उनीहरूमध्ये दुई जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा दुइजनाको निधन भएकोजिल्ला ट्राफिक प्रमुख ढकालले जानकारी दिए । मृत्यु हुनेहरूमा काभ्रे बनेपा नगरपालिका–८ की ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछाप सुनापति (ठाडादेवी) गाउँपालिका–२ की ६५ वर्षीया उदयमाया खत्री रहेको उनले जानकारी दिए।
दुर्घटनामा परेर घाइते भएका बाँकी तीन जना महिलालाई तत्काल उद्धार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको छ।
घाइते हुनेहरूमा सर्लाही लालबन्दी–९ घर भई काठमाडौँ काँडाघारी बस्ने २५ वर्षीया सुजता पोखरेल (दाहिने हातमा चोट), काभ्रे बनेपा–१० की ४२ वर्षीया शर्मिला श्रेष्ठ (बायाँ हातमा चोट) र दोलखा मेलुङ–६ घर भई काँडाघारी नै बस्ने ६० वर्षीया ज्ञानु श्रेष्ठ (टाउको र ढाडमा चोट) रहेका छन्। घाइते सबैको अवस्था मध्यम रहेको र उनीहरू बोल्न सक्ने स्थितिमै रहेको प्रहरीले जनाएको छ।
घटनालगत्तै पुगेको प्रहरी टोलीले बसका चालक काभ्रे पाँचखाल नगरपालिका–७ बस्ने ४५ वर्षीय सिताराम आचार्यलाई नियन्त्रणमा लिएको छ। रोकिराखेको गाडी कसरी अचानक गुढ्न पुग्यो भन्ने विषयमा ह्यान्डब्रेक वा अन्य प्राविधिक त्रुटि के थियो भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।
बसमा जम्मा कति यात्रु सवार थिए भन्ने यकिन तथ्यांक आउन बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।