साउन ३०, थानाभन्ज्याङ (नुवाकोट) । टोखा-छहरे सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित थानाभन्ज्याङमा शनिबार बिहान टोली खाजा खान ओर्लिएका बेला एउटा बस अनियन्त्रित भई भिरबाट खस्दा ५ जना यात्रु घाइते भएका छन्।
काठमाडौँबाट दुप्चेश्वरतर्फ जाँदै गरेको बा.प्र.०८-१ ख ००५२ नम्बरको बस बिहान करिब ८:२५ बजे सडक छेउमा रोकेर चालक र अधिकांश यात्रुहरू खाजा खान गएका थिए। सोही क्रममा बस अचानक आफैँ गुड्न थालेपछि अगाडि रोकिराखेको बा.प्र.३–००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिँदै दुवै सवारी साधन सडकबाट करिब ३० देखि ४० मिटर तल भिरमा खसेको जिल्ला ट्राफिक कार्यालय नुवाकोटका प्रमुख विनोद ढकालले जानकारी दिए ।
दुर्घटना हुँदा खाजा खान ओर्लन नसकी बसभित्रै बसिरहेका ५ जना महिला यात्रुहरू मध्यम घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। बसमा जम्मा कति यात्रु सवार थिए भन्ने यकिन भइनसके पनि ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ।
ठक्कर खाएको ईभी भ्यानका चालक धादिङको नीलकण्ठ नगरपालिका–७ का २९ वर्षीय चुमन राना मगर रहेका छन् भने उनी भ्यान बाहिरै रहेकाले सुरक्षित छन्।
घटनालगत्तै काभ्रेको पाँचखाल नगरपालिका–७ घर भएका ४५ वर्षीय बस चालक सीताराम आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सवारीसाधन कसरी आफैँ गुड्यो र ब्रेक फेल भएको हो या ह्यान्डब्रेक नलगाइएका कारण दुर्घटना भएको हो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको स्थानीय प्रहरीले जनाएको छ।