साउन २७, काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ।
एक्स्पो उद्घाटन गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सवारीसाधन बिक्री मात्र पर्याप्त नभएको बताउँदै सुरक्षा क्षेत्रमा सामाजिक उत्तरदायित्व बहन गर्न र बिक्रीपछिको सेवामा ध्यान दिन व्यवसायीलाई आग्रह गरे। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रलाई सधैं राजस्वको स्रोतका रूपमा मात्र हेरेको गुनासो गरे। नेपालमा संसारकै उच्च भन्सार दर लागू भएको उल्लेख गर्दै उनले यस क्षेत्रलाई विलासिता नभई आवश्यकताका रूपमा लिन र विद्युतीय सवारीका लागि समेत स्थिर नीति अपनाउन सुझाव दिए। निजी क्षेत्र लगानी गर्न तयार रहेको तर वातावरण सरकारले बनाइदिनुपर्ने उनको भनाइ थियो।
नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो सवारीसाधन किनबेच गर्ने थलो मात्र नभई सम्पूर्ण मोबिलिटी इकोसिस्टमलाई एकै ठाउँमा ल्याउने साझा मञ्च भएको बताइन्। पटक–पटक फेरिने नीतिगत व्यवस्थाले व्यवसायीमा अनिश्चितता सिर्जना गरेकाले नयाँ लगानी भित्रिन समस्या भइरहेको उनको भनाइ थियो। निजी क्षेत्र र सरोकारवालासँग छलफल गरेर मात्र नीति परिवर्तन गर्न उनले सरकारलाई सुझाव दिइन्।
नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले अटोमोबाइल क्षेत्र राजस्वको प्रमुख स्रोत भएकाले उच्च प्राथमिकता दिनुपर्ने बताए भने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी अब यातायातको विषय मात्र नभई देशको आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको विषय भएको स्पष्ट पारे। नेपालको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको करिब ७ प्रतिशत योगदान रहेको तथ्यांक पेस गर्दै उनले यसलाई आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार गर्नुपर्ने बताए।
पहिलो दिन विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन् भने २९ हजारभन्दा बढीले मेला अवलोकन गरेका छन्। मेला अवधिभर करिब डेढ लाख अवलोकनकर्ता पुग्ने अपेक्षा गरिएको छ।
एक्स्पोमा स्वदेशी तथा विदेशी विज्ञद्वारा लर्निङ सेसन, पोलिसी डायलग र उद्योग अन्तरक्रियाजस्ता कार्यक्रम सञ्चालन हुनेछन्।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको यो एक्स्पो साउन ३१ सम्म चल्नेछ। नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर र व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन्। बैंक तथा बिमा कम्पनीले विशेष अफर र सहुलियत कर्जा उपलब्ध गराइरहेका छन्।
एक्स्पोको को–स्पोन्सरमा ग्लोबल आइएमई बैंक, पावर्डबाई रेडबुल, बैंकिङ पार्टनरमा एनएमबी र सिद्धार्थ बैंक, इन्स्योरेन्स पार्टनरमा सलिको र एनएलजी लगायत विभिन्न संस्था सहभागी छन्।