साउन १९, विदुर । भूमि प्रशासन कार्यालय नुवाकोटको प्रगति विवरण अनुसार सुशासन तथा आर्थिक अनुशासन कायम गर्ने क्रममा कार्यालयले बेरुजु फर्छयौटमा समेत उल्लेख्य प्रगति हासिल गरेको प्रतिवेदनले देखाएको छ।
कार्यालयको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक (वैशाखदेखि असार मसान्तसम्म) को विवरणअनुसार कुल १ करोड १२ लाख ४० हजार ५४ रुपैयाँ ८२ पैसा बेरुजु लगत रहेकोमा ८२ लाख ४२ हजार ९०४ रुपैयाँ (७४.४३ प्रतिशत) फर्छयौट भइसकेको छ भने अब २९ लाख ९७ हजार १४६ रुपैयाँ ८२ पैसा मात्र फर्छयौट हुन बाँकी छ।
कार्यालयले आर्थिक कारोबारतर्फ कार्यालयले वैशाखदेखि असारमसान्तसम्मको अवधिमा कुल १० करोड ३८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। संकलित राजस्वमध्ये रजिष्ट्रेशन, रोक्का तथा सेवा शुल्कबापत ५ करोड ६५ लाख १२ हजार २ ९२ रुपैयाँ, पुँजीगत लाभकरबापत ४ करोड ५९ लाख ११ हजार ९७ रुपैयाँ, न्यायिक दस्तुरबापत १२ लाख ६७ हजार ९ ६४ रुपैयाँ र गुठी जग्गाको मालपोत असुलीबापत १ लाख ६५ हजार ९ १७ रुपैयाँ रहेको छ।
बजेट विनियोजन र खर्चको अवस्थातर्फ, संघीय तर्फको भू-सुधार तथा भूमि प्रशासन कार्यक्रममा प्राप्त २ करोड ६३ लाख ९१ हजार ३ ३१ रुपैयाँमध्ये २ करोड ४४ लाख ४६ हजार ७ ३१ रुपैयाँ ९९ पैसा (९२.६३ प्रतिशत) खर्च भएको छ भने मालपोत अभिलेख सुरक्षा तथा सुदृढीकरण र प्रदेश सरकारको भू-व्यवस्थापन तथा नक्शाङ्कन कार्यक्रममा प्राप्त बजेट शतप्रतिशतको हाराहारीमा कार्यान्वयन भएको छ।
कार्यालयबाट कुल २ हजार ३ सय ८ वटा लिखत पारित भएका छन् । जसमा १ हजार ३ सय ९० वटा आम लिखत र ९ सय १८ वटा धितोबन्धकी सम्बन्धी लिखत रहेका छन्। यसैगरी नामसारी, दाखिल-खारेज र संशोधन लगायतका २०७ वटा नामसारी, १९ वटा दाखिल-खारेज र १०८ वटा संशोधन गरी कुल ३ सय ३४ वटा मिसिल फर्छयौट भएका छन्।
विवरणअनुसार जग्गा दर्तातर्फ चालु आर्थिक वर्ष २०८३/८४ मा १३३ र अघिल्लो वर्षबाट सरेर आएका २९७ गरी कुल ४ सय ३० निवेदनमध्ये १४५ वटा कित्ताको दर्ता प्रक्रिया सम्पन्न भएको छ, जसमध्ये २१ वटा चालु त्रैमासिक अवधिमै टुंग्याइएका हुन्। यसका अतिरिक्त, विर्ता जग्गा दर्तातर्फ ३०६ वटा निवेदन दर्ता भएको, सडक योजना अन्तर्गत ६२ कित्ता र एमसिए नेपाल आयोजनाका लागि ५४ कित्ता जग्गाको लगत कट्टा गरिएको छ भने ८ वटा मोही नामसारी र १ वटा मोही लगत कट्टाको काम समेत सम्पन्न गरिएको छ।
प्रतिक्रिया