साउन १४, नुवाकोट । किस्पाङ गाउँपालिका–३, काउलेकी ११ वर्षीया तेक्वान्दो खेलाडी दिपश्री तामाङले चीनमा आयोजित ‘हाइनान बिच कप अन्तर्राष्ट्रिय आमन्त्रित तेक्वान्दो प्रतियोगिता’मा उत्कृष्ट प्रदर्शन गर्दै नेपालका लागि १ रजत तथा २ कास्य पदक जित्न सफल भएकी छिन्।
प्रतियोगितामा दिपश्रीले केरुगी विधामा रजत पदक तथा पुम्से र जम्प रोप विधामा समान एक–एक कास्य पदक जित्दै सानै उमेरमै अन्तर्राष्ट्रियस्तरमा नेपालको गौरव बढाएकी हुन्।
हाल काठमाडौंको ठुलोभर्याङस्थित लायन मार्सल आर्ट तेक्वान्दो डोजाङमा नियमित प्रशिक्षणरत दिपश्री सानै उमेरदेखि जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी प्रतिभाशाली खेलाडी हुन्। निरन्तरको मेहनत, अनुशासन र प्रशिक्षणका कारण उनले अन्तर्राष्ट्रिय मञ्चमा समेत आफ्नो क्षमता प्रमाणित गर्न सफल भएकी हुन्।
११ वर्षको उमेरमै हासिल गरेको यो उल्लेखनीय सफलताले नुवाकोट जिल्लालाई गौरवान्वित बनाएको छ। दिपश्रीको उपलब्धिप्रति खेलकर्मी, प्रशिक्षक, स्थानीयवासी तथा शुभेच्छुकहरूले बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया