+
Search

ताजा अपडेट +

पपुलर +

ज्येष्ठ नागरिक अस्पताल देशकै लागि एउटा उत्कृष्ट नमुना हुने: डा. प्रकाशचन्द्र लोहनी

Senior leader of the Rastriya Prajatantra Party (RPP), Dr. Prakash Chandra Lohani
डबली खबर
३३ मिनेट अगाडी

असार २८, नुवाकोट। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले नुवाकोटको ऐतिहासिक एवं धार्मिकस्थल देवीघाटमा निर्माण हुने ज्येष्ठ नागरिक अस्पताल देशकै लागि एउटा उत्कृष्ट नमुना हुने विश्वास व्यक्त गरेका छन् ।

देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको १६औं साधारणसभा तथा छैठौं अधिवेशन कार्यक्रममा बोल्दै डा. लोहनीले यस बृहत् परियोजनामा कुनै पनि वैदेशिक दातृ निकाय वा गैरसरकारी संस्था (एनजीओ) बाट एक पैसा पनि सहयोग नलिई पूर्ण रूपमा स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूको स्वेच्छिक दान, सहयोग र आफ्नै रकमबाट निर्माण अघि बढाइनु समस्त नेपालीका लागि गर्वको विषय भएको बताए ।

नेपालीहरू आफैँले हातेमालो गरेर साना-ठुला जति सक्छन् त्यति रकम जुटाएर यस्तो पवित्र कार्य फत्ते गर्न लागेको भन्दै डा. लोहनीले अभियानमा संलग्न अभियन्ताहरूको दृढता र इमानदारिताको खुला हृदयले प्रशंसा गरे ।

ऐतिहासिक एवं पौराणिक पृष्ठभूमिमाथि प्रकाश पार्दै डा. लोहनीले देवीघाटको धार्मिक र राष्ट्रिय महत्त्वबारे विशेष चर्चा गरे । डा. लोहनीले देवीघाट देवताहरूले आएर ध्यान गर्ने पवित्र भूमि भएको र यसको सांस्कृतिक गरिमा निकै उच्च रहेको बताए । धार्मिक केन्द्र मात्र नभएर यो भूमिलाई नेपालको राष्ट्र निर्माणको जगका रूपमा समेत स्मरण गर्दै डा. लोहनीले आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको अन्त्य भएको र लामो समय बिताएको यो ऐतिहासिक थलो चानचुने नभएको डा. लोहनीले जिकिर गरे । केवल १२ हजार जनसङ्ख्या भएको तत्कालीन गोरखा राज्यबाट विशाल नेपाल खडा गर्ने राष्ट्रनायकको स्मृति जोडिएको र नेपाली अस्तित्वको जग बसेको यस पवित्र स्थानमा ज्येष्ठ नागरिकहरूका लागि विशेष सेवा केन्द्र स्थापना हुनु अत्यन्तै सान्दर्भिक र गरिमामय कार्य भएको डा. लोहनीको भनाइ थियो ।

परियोजनाको पूर्णताका लागि सम्पूर्ण नेपालीहरूबीच आपसी विश्वास र सहकार्य अपरिहार्य रहेको कुरामा जोड दिँदै नेता लोहनीले आफू पनि यस सत्कर्ममा सहयोगी बन्न पाउँदा गौरवान्वित भएको र संस्थाले सुम्पिने जुनसुकै जिम्मेवारी वहन गर्न तयार रहेको प्रतिबद्धता जनाए । यो काममा सबै राजनीतिक वा अन्य दलगत विचारभन्दा माथि उठेर जुट्नुपर्ने धारणा राख्दै डा. लोहनीले हालसम्म नेपाल सरकारले पुर्‍याएको सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।

आगामी दिनमा पनि जनता र सरकार मिलेर यस्ता उदाहरणीय कामहरू गर्न सकिन्छ भन्ने गतिलो प्रमाण नुवाकोटले पेस गर्ने विश्वास व्यक्त गर्दै डा. लोहनीले ‘ईश्वर मेरो साथमा, कर्म मेरो हातमा’ भन्ने मूल मन्त्रलाई आत्मसात् गरी विचलित नभई कर्मक्षेत्रमा लागिरहन सबैलाई आह्वान गरे ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ