असार २२, नुवाकोट । मध्यपहाडी लोकमार्ग अन्तर्गत सामरी–भर्याङभुरुङ सडकखण्डको जोरचौतारादेखि भर्याङभुरुङसम्मको खण्ड वर्षा सुरु भएसँगै हिलाम्मे बनेपछि यात्रु र स्थानीय बासिन्दाले सास्ती खेप्नुपरेको छ।
निर्माण कार्यमा भएको ढिलाइ र समयमै मर्मतसम्भार नहुँदा सडकको अवस्था रोपाइँ गर्न ठिक्क पारिएको खेतजस्तै बनेको छ । सोहि सडकखण्ड हुँदै दैनिक आवतजावत गर्ने दुईपाङ्ग्रे सवारीसाधनहरू चिप्लिएर दुर्घटना हुने क्रम बढेको छ।
पछिल्लो समय यस रुटमा चल्ने विद्युतीय सवारीसाधन (ईभी) र हलुका सवारीसाधनहरू सडकको हिलोमा भासिने गरेका कारण सडक घण्टौँ अवरुद्ध हुने गरेको छ भने ठूला सार्वजनिक सवारीसाधनहरू समेत जोखिम मोलेरै यात्रा गर्न बाध्य छन्।
सडकको दुरावस्थाले जोखिम निम्त्याएपछि स्थानीय बासिन्दाले म्यागङ गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, मध्यपहाडी राजमार्ग आयोजना र सम्बन्धित निर्माण कम्पनीको पटक-पटक ध्यानाकर्षण गराएका छन्। सरोकारवाला निकायहरूले सडक सुधारका लागि ठोस र दीर्घकालीन पहल नगरेको स्थानीयको गुनासो छ।
धादिङको कटुन्जे र सेमजोङबाट काठमाडौंका लागि दैनिक छुट्ने ईभी तथा बसहरू यही सडक भएर गुड्ने भएकाले यो खण्ड पश्चिम नुवाकोट र उत्तरी धादिङ जोड्ने मुख्य सडक नै मानिन्छ।
स्थानीय पूर्ण श्रेष्ठका अनुसार सडकको अवस्था यस्तै रहिरहे कुनै पनि बेला ठूलो मानवीय क्षति हुने गरी दुर्घटना हुनसक्ने भएकाले सम्बन्धित पक्षले हिलो पन्छाउने र ग्राभेल गर्ने काम तत्काल अगाडि बढाउनुपर्ने आवश्यकता देखिन्छ।
राजमार्ग आयोजना र स्थानीय तहका प्रतिनिधिहरूले भने लगातारको वर्षा र भौगोलिक संवेदनशीलताका कारण मर्मत कार्यमा केही प्राविधिक कठिनाइ उत्पन्न भएको जनाएका छन्।
बर्खाको समयमा सडकमा लेदो माटो र गेग्रान थुप्रिने क्रम रोक्न र सवारी आवागमन सहज बनाउन निर्माण कम्पनीसँग समन्वय भइरहेको र छिट्टै अस्थायी रूपमै भए पनि बाटो खुलाउने प्रयास भइरहेको बुझिएको छ।
विकास निर्माणका काममा समन्वयको अभाव र ठेकेदारको ढिलासुस्तीका कारण सर्वसाधारणले सास्ती पाउने परिपाटीको अन्त्य गर्न सरोकारवाला निकायहरूले थप गम्भीरता देखाउन जरुरी देखिन्छ।
प्रतिक्रिया