असार २०, नुवाकोट । पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले आगामी स्थानीय तहको निर्वाचनमा विदुर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने आकांक्षा व्यक्त गरेका छन्।
नेपालको संविधान २०७२ को व्यवस्थाअनुसार दुई कार्यकाल अध्यक्ष भइसकेको व्यक्ति तेस्रो पटक सोही पदमा उम्मेदवार बन्न नपाउने प्रावधानलाई उल्लेख गर्दै उनले आफूले विदुर नगरपालिकालाई भावी राजनीतिक गन्तव्यका रूपमा हेरिरहेको स्पष्ट पारेका छन् ।
शनिबार विदुर नगरपालिका-२ विदुरस्थित विदुर पितृमोक्ष धाम क्रियापुत्री कल्याणकारी संस्थाको भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले विदुर आफ्ना लागि नौलो वा छिमेकी क्षेत्र मात्र नभई आफ्नै नगर सरह रहेको दाबी गर्दै यहाँका विभिन्न सामाजिक, धार्मिक तथा सरकारी कार्यालयहरूको पूर्वाधार विकासमा पञ्चकन्या गाउँपालिका र व्यक्तिगत तर्फबाट निरन्तर सहयोग पुर्याउँदै आएको स्मरण गराए।
जिल्ला प्रशासन कार्यालय, मालपोत, अदालत, देवीघाटस्थित क्रियापुत्री भवन तथा निर्माणाधीन अस्पताल र अन्य विभिन्न संघसंस्थालाई बजेट विनियोजन गरी हातेमालो गरेको सन्दर्भ जोड्दै उनले आफूसँग असीमित धन नभए पनि नगरबासीको सेवा गर्ने बलियो इच्छाशक्ति रहेको बताए । उनले परिस्थिति अनुकूल भएमा विदुर नगरपालिकाको नेतृत्व लिन आफू पूर्ण रूपमा तयार रहेको बताएका छन्।

प्रतिक्रिया