+
Search

ताजा अपडेट +

पपुलर +

व्यापार इन्क्युबेशन: कोशीबाट ‘सफारी यात्री’ र बागमतीबाट ‘सम्पर्क डिजिटल’ उत्कृष्ट

Business Incubation Safari Yatri from Koshi and Sampark Digital from Bagmati excel
डबली खबर
२० मिनेट अगाडी

असार ८, काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित ‘व्यापार इन्क्युबेशन सेवा कार्यक्रम २०२६’ भव्य रूपमा सम्पन्न भएको छ । स्टार्टअप उद्यमीहरूको क्षमता अभिवृद्धि, नवीन सोचको विकास र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालित यस कार्यक्रमले नेपालको स्टार्टअप इकोसिस्टम विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

कार्यक्रममा विशेष गरी कोशी र बागमती प्रदेशका नवप्रवर्तक टोलीहरूबीच कडा प्रतिस्पर्धा भएको थियो, जसमा आ-आफ्नो प्रदेशबाट उत्कृष्ट आइडिया प्रस्तुत गर्ने दुई स्टार्टअपले बाजी मारेका छन् ।

कोशी प्रदेशतर्फको प्रतिस्पर्धामा ‘सफारी यात्री’ (मौसम तामाङ र रजिप राई) उत्कृष्ट विजेता घोषित भएको छ । कोशीका उत्कृष्ट पाँच स्टार्टअपहरू—लोकल बजार, मेडिक्याब टेक्नोलोजिज, माइन्ड ब्रिज, भोल्ट भी र सफारी यात्रीबीच भएको प्रतिस्पर्धामा ‘सफारी यात्री’ले पहिलो स्थान हासिल गरेको हो । विजेता भएसँगै यस टोलीले प्रमाणपत्रसहित नगद पुरस्कार रु. १ लाख प्राप्त गर्न सफल भयो ।

यसैगरी, बागमती प्रदेशको तर्फबाट ‘सम्पर्क डिजिटल लोयल्टी’ (श्रीयांश श्रेष्ठ, राहुल राजभण्डारी, क्रिस्चल श्रेष्ठ र प्रशान्त नेपाली) विजेता बन्न सफल भएको छ । बागमती प्रदेशका उत्कृष्ट पाँच प्रतिस्पर्धीहरू क्लाउड साथी, म्याच२४ अर्बिटल्स, रिटेल साथी, द भिजनरी नेपाल र सम्पर्क डिजिटल लोयल्टीलाई पछि पार्दै यस टोलीले उपाधि चुमेको हो । बागमतीको विजेता टोलीले पनि प्रमाणपत्रका साथमा नगद पुरस्कार रु. १ लाख हात पारेको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. सुदन झा, सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विज्ञ हेमपाल श्रेष्ठ, प्रतिक इनोभेसन्सका जतिन भुसाल र टिङ टिङका सुजन प्रजापति लगायतका विज्ञहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा दुवै प्रदेशका उत्कृष्ट पाँचमा पर्न सफल सबै स्टार्टअप टोलीहरूलाई उनीहरूको सक्रिय सहभागिता र योगदानको कदर गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो ।

अनुभवी मेन्टरहरू र प्रतिष्ठित निर्णायक मण्डलको मूल्यांकनपछि छानिएका यी विजेता स्टार्टअपहरूले आगामी दिनमा नेपाली बजारमा बलियो व्यावसायिक उपस्थिति जनाउने अपेक्षा गरिएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ