नुवाकोट जिल्लाको फुटबल खेलको इतिहास र विकासको चर्चा गर्दा एउटा नाम अग्रपंक्तिमा आउँछ— सन्तोष भुजेल।
विदुर नगरपालिका निवासी भुजेल केवल एक अब्बल खेलाडी मात्र नभएर खेलप्रेमी, अनुशासित नेतृत्वकर्ता र एक समर्पित फुटबल अभियन्ताका रूपमा स्थापित भइसकेका छन्। सानै उमेरदेखि फुटबल खेलप्रति गहिरो लगाव राख्दै अथक मेहनत र निरन्तर समर्पणका साथ खेल क्षेत्रमा लागेका उनले आफ्नो व्यक्तिगत सफलताभन्दा माथि उठेर सम्पूर्ण नुवाकोट जिल्लाको खेलकुद विकासमा ऐतिहासिक योगदान पुर्याउनुभएको छ, जसका कारण आज उहाँलाई जिल्लाभर अत्यन्त गर्व र सम्मानका साथ हेरिने गरिन्छ।
उनको खेल जीवनको सबैभन्दा सुनौलो पाटो नुवाकोट युनाइटेड फुटबल क्लबसँग जोडिएको छ । जसलाई व्यवस्थित रूपमा नेतृत्व गर्दै जिल्लाकै उत्कृष्ट तथा शीर्ष टोलीका रूपमा स्थापित गराउन उनले अत्यन्तै महत्वपूर्ण र अविस्मरणीय भूमिका खेल्दै आईरहेका छन् ।
क्लबलाई सफलताको उचाइसम्म पुर्याउन उनले देखाएको दूरदृष्टि, निरन्तरको समर्पण, बलियो टीम भावना र कुशल नेतृत्व क्षमता साँच्चै नै प्रशंसनीय रहेको खेल क्लबका अध्यक्ष रामकुमार कोइराला बताउँछन्।
फुटबलप्रतिको उनको निष्ठा, संघर्ष र अनुशासन आज नुवाकोटका कैयौं युवाहरूका लागि खेल क्षेत्रमा अगाडि बढ्ने एउटा बलियो प्रेरणाको मुख्य स्रोत बनेको छ।
मैदानभित्र उनको प्रदर्शन जति उत्कृष्ट थियो । मैदानबाहिर खेलाडीहरूलाई एकताबद्ध बनाउने क्षमता पनि त्यति नै लोभलाग्दो रह्यो। लामो समयसम्म नुवाकोट जिल्लाको फुटबल टोलीको कप्तानको जिम्मेवारी सम्हाल्दै जिल्लालाई विभिन्न राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगिताहरूमा महत्वपूर्ण विजय दिलाउन सफल हुनु उनको उच्च खेलकौशल र दृढ आत्मविश्वासको प्रत्यक्ष प्रमाण हो।
हाल खेल जीवनको सक्रिय मैदानबाट केही फरक भूमिकामा देखिएका भुजेल नयाँ पुस्ताका खेलाडीहरूलाई फुटबल क्षेत्रमा अगाडि बढाउन विभिन्न सामाजिक अभियान र प्रशिक्षण कार्यमा निकै सक्रिय छन् ।
खेलकुदमार्फत् समाजमा अनुशासन, सकारात्मक सोच, स्वास्थ्य र युवाहरूको उज्ज्वल भविष्य निर्माण गर्न उनले पुर्याइरहेको यो योगदान समाजका लागि एउटा उदाहरणीय र अनुकरणीय कार्य बनेको छ।

प्रतिक्रिया