११ वैशाख, नुवाकोट । विदुर नगरपालिकाले आफ्नो क्षेत्रभित्रका किसानहरूलाई व्यावसायिक बनाउने र उत्पादन बढाउने उद्देश्यले विभिन्न आधुनिक कृषि यन्त्र तथा उपकरणहरू वितरण गरेको छ।
चालू आर्थिक वर्ष २०८२/८३ को मध्यपहाडी मकैबाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत छनौटमा परेका कृषि सहकारी संस्थाका सदस्यहरूलाई उक्त सामग्री उपलब्ध गराइएको हो।
बिहीबार आयोजित एक विशेष कार्यक्रमका बीच नगरप्रमुख राजन श्रेष्ठ र उपप्रमुख प्रभा बोगटीले सम्बन्धित सहकारीका प्रतिनिधि तथा किसानहरूलाई उपकरण हस्तान्तरण गरेका हुन् ।
नगरपालिकाले ५० प्रतिशत अनुदान साझेदारीमा उपलब्ध गराएका सामग्रीहरूमा मकै छोडाउने मेसिन १९ थान, मकै रोप्ने मेसिन ३ थान, विद्युतीय स्प्रेयर पम्प १७ थान र डिजिटल तौल लिने काँटा १ थान रहेका छन्। कृषिमा प्रविधिको प्रयोग बढाएर श्रम र समयको बचत गर्दै उत्पादकत्व वृद्धि गर्ने लक्ष्य लिइएको यस कार्यक्रमको कुल लागत १४ लाख रुपैयाँ रहेको छ।
नगरप्रमुख श्रेष्ठले कृषिमा यान्त्रिकीकरण गर्दा लागत घट्ने र कृषकहरूलाई व्यावसायिक बन्न थप हौसला मिल्ने विश्वास व्यक्त गरेका छन् ।
नगरपालिकाले आगामी दिनमा सिँचाइका लागि पाइप, आवश्यक विषादी वितरण तथा सिँचाइ कुलो मर्मत र निर्माणका कार्यहरूलाई समेत प्राथमिकतामा राखेर प्रक्रिया अगाडि बढाएको उपप्रमुख प्रभा बोगटीले जानकारी दिईन् ।
उपकरण हस्तान्तरण कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरू र स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
यस प्रवर्द्धन कार्यक्रम अन्तर्गत यसअघि नै किसानहरूलाई उन्नत जातको मकैको बीउ वितरण गरिसकिएको छ।
प्रतिक्रिया