+
Search

ताजा अपडेट +

पपुलर +

नेकपा (एमाले) नुवाकोटको चुनावी समीक्षा, पार्टी सुदृढीकरणका महत्त्वपूर्ण निर्णय

डबली खबर
७ घण्टा अगाडी

६ वैशाख, विदुर । नेकपा (एमाले) जिल्ला कमिटी नुवाकोटको सातौं पूर्ण बैठक आइतबार विदुरस्थित पार्टी कार्यालयमा भएको छ।

जिल्ला कमिटीका अध्यक्ष बद्री मैनालीको अध्यक्षतामा आयोजित उक्त बैठकमा केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इञ्चार्ज केशवराज पाण्डेको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य एवं निर्वाचन क्षेत्र नम्बर २ की इञ्चार्ज बिन्दा ढुंगानाको विशिष्ट आतिथ्यता रहेको थियो।

बैठकले मुख्यगरी गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणाम, पार्टीको साङ्गठनिक अवस्था र आगामी कार्यदिशाका सम्बन्धमा गम्भीर छलफल गर्दै विभिन्न सात बुँदे महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ।

गत २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत परिणामले पार्टीको वर्तमान अवस्थालाई चित्रण गरेको निष्कर्ष निकाल्दै आगामी दिनमा जनसरोकारका मुद्दाहरूमा जनतासँग प्रत्यक्ष हातेमालो गर्दै अगाडि बढ्ने र पार्टीका कामकारबाहीलाई थप व्यवस्थित र जनमुखी बनाउने अठोट बैठकले निर्णय गरेको छ।

साङ्गठनिक सुदृढीकरणलाई तीव्रता दिन बैठकले मातहतका सबै कमिटीहरूलाई विशेष निर्देशन जारी गरेको छ। जसअन्तर्गत यहि जेठ मसान्तभित्र पार्टी सदस्यता नवीकरण गरिसक्न सदस्यहरूलाई आह्वान गरिएको छ भने निर्वाचनमा वडा र पालिकास्तरमा प्राप्त मतको गहन समीक्षा गरी पार्टीलाई सशक्त र मजबुत बनाउने योजनासहितको प्रतिवेदन यथाशीघ्र जिल्ला कार्यालयमा बुझाउन निर्देशन दिइएको छ।

साथै, गत भदौमा भएको आगजनीबाट क्षतिग्रस्त पार्टी कार्यालय भवनको पुनर्निर्माणका लागि आर्थिक स्रोत जुटाउने निर्णय पनि गरिएको छ।

भवन निर्माणका लागि जिल्ला कमिटी सदस्यबाट न्यूनतम ५ हजार र प्रदेश कमिटी सदस्यबाट १० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने तथा यसअघि प्रतिबद्धता जनाएका सदस्यहरूलाई वैशाख २० गतेभित्र रकम बुझाउन अनुरोध गर्ने निर्णय भएको छ।

बैठकमा भारतको नयाँ दिल्लीमा उपचाररत जिल्ला कमिटीका उपाध्यक्ष राजेन्द्र रमण खनालको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ