+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ओली र लेखकको गिरफ्तारीविरुद्ध एमाले नुवाकोटद्वारा विरोध-पत्र, तत्काल रिहाइको माग

ओली र लेखकको गिरफ्तारीविरुद्ध एमाले नुवाकोटद्वारा विरोध-पत्र, तत्काल रिहाइको माग
डबली खबर
२ हप्ता अगाडी

१५ चैत, विदुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी नुवाकोटले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीप्रति कडा आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेको छ।

आईतबार पार्टीका जिल्ला अध्यक्ष बद्री मैनालीसहितको टोलीले जिल्ला प्रशासन कार्यालय नुवाकोटमार्फत नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विरोध-पत्रमा बुझाइएको हो। पार्टीले उक्त गिरफ्तारीलाई प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी संज्ञा दिएको छ।

सरकारको कदमले विधिको शासन र लोकतान्त्रिक मूल्य-मान्यताको धज्जी उडाएको दाबी गर्दै एमालेले नेताद्वयको स-सम्मान तत्काल रिहाइको माग गरेको छ। भाद्र २३ र २४ गते घटित घटनाको छानबिन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको प्रतिवेदनलाई समेत चुनौती दिइएको छ। आयोगका अध्यक्षको आफ्नै अभिव्यक्ति र पूर्वाग्रही प्रतिवेदनका आधारमा गरिएको अनुसन्धान न्यायको आधारभूत सिद्धान्त विपरीत रहेको एमालेको ठहर छ।

प्रतिवेदनलाई सार्वजनिक नगरी गोप्य राखेर नागरिकको सूचनाको हक कुण्ठित गरिएको र त्यसकै आधारमा नेताहरूलाई पक्राउ गरिएकोमा नुवाकोट एमालेले सरकारलाई आफ्नो संवैधानिक मर्यादाभित्र रहन सचेत गराएको छ। आफ्ना मागहरू तत्काल सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रमहरू अघि बढाउने चेतावनी दिँदै एमालेले सम्पूर्ण पार्टी पंक्ति र आम जनसमुदायलाई लोकतन्त्रको रक्षाका लागि एकजुट हुन आह्वान गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ