६ चैत, सिमलकोट, नुवाकोट । वन डढेलो व्यवस्थापन सप्ताह अन्तर्गत डढेलो नियन्त्रण सम्बन्धी कृत्रिम घटना अभ्यास आज शुक्रबार नमुना अभ्यास गराइएको छ। विदुर नगरपालिका-२ स्थित पञ्चकन्या सामुदायिक वनमा स्थलगत नमुना अभ्यास गराइएको हो ।
वन डढेलो नियन्त्रण तथा व्यवस्थापन अभ्यास–२०८२ अन्तर्गत वन डढेलो लागेमा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिने उद्देश्यले स्थलगत नमूना अभ्यास गराइएको डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख प्रदिपनाथ शर्मा जानकारी दिए ।
कार्यक्रममा जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले अन्जान र जानाजानी हुने वनमा आगलागी हुने घटनाले विगतमा ठुलो क्षति भएको हुनाले त्यसको नियन्त्रणको लागि सचेतना कार्यक्रम गर्नुपर्ने हुने बताए । आगलागी नियन्त्रणमा सबैले हातोमालो गरेर आगलागी नियन्त्रण र न्यूनीकरण गर्न सकिने बताए।
डिभिजन वन कार्यालय नुवाकोटले वन डढेलो नियन्त्रण गर्ने विभिन्न उपकरण तथा सामग्री यस अघि नै प्रदान गरेको थियो । सोही उपकरणको प्रयोग गरी अध्यास गराइएको हो । डढेलो नियन्त्रणमा व्यक्तिले लगाउने फायर रेक, ज्याकेट, जुत्ता, हेलमेट पञ्जा तथा आगो निभाउनका लागि पानी सहितको स्प्रे टङ्की, झ्यापे, गैती लगायतका सामग्री प्रदान गरेको वन डिभिजन प्रमुख शर्मा जानकारी दिए । उनले वन डढेलो नियन्त्रण सुदृढ समन्वय र सहकार्यबाट मात्रै सम्भव हुने विश्वास व्यक्त गर्दै सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्ण पहल गर्नुपर्नेमा जोड दिए।
डिभिजन वन कार्यालय नुवाकोटको आयोजना र सशस्त्र प्रहरी बल १९ नम्बर गुल्मको संयोजनमा भएको अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, विदुर नगरपालिका, सामुदायिक वनलगायतको सहभागिता रहेको थियो ।
स्थलगत नमुना अभ्यास गरिएको उक्त सामुदायिक वनमा ३७५ जना उपभोक्ता सदस्यहरु रहेको पञ्चकन्या सामुदायिक वनकी सचिव सरस्वती आचार्यले जानकारी दिईन् ।
कार्यक्रममा प्रहरी प्रमुख बिपिन रेग्मी, शेर गणका गणपति आविस्कार ढुङ्गाना, सशस्त्र प्रहरी बल १९ नं गुल्म प्रमुख गंगा केसी, त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामा, नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाका सभापति हरी श्रेष्ठ लगायतका विभिन्न सरोकारवाला निकाय, जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता समुहको सदस्यहरुको सहभागिता रहेको थियो ।
तस्बिर: सुनील श्रेष्ठ




















प्रतिक्रिया