+
Search

ताजा अपडेट +

पपुलर +

विदुरमा ‘संसारी पूजा’

sansari puja celebrated in Bidur Nuwakot people
डबली खबर
२ महिना अगाडी

९ फागुन, नुवाकोट । सदरमुकाम विदुरका स्थानीयबासीले धार्मिक एवं सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि हर्षोल्लासका साथ ‘संसारी पूजा’ गरेका छन्। प्रकृतिको उपासना गरिने यस पूजामा विदुरका स्थानीय समुदायको उपस्थिति रहेको थियो।

स्थानीय राजकुमार श्रेष्ठका अनुसार रोगव्याधि नलागोस्, बालिनाली सप्रियोस् र समयमा वर्षा होस् भन्ने कामनाका साथ हरेक वर्ष संसारी माईको पूजा गर्ने गरिएको हो।

सिमचौरस्थित त्रिशूली नदीको किनारमा आयोजित उक्त पूजाका लागि विदुर नगरपालिका–४ वडा कार्यालयले निर्माण गरिदिएको ट्रस्टका कारण भक्तजनहरूलाई सहज भएको थियो।

पूजामा विदुर नगरपालिका–४ का वडा अध्यक्ष निलमबाबु ढुङ्गेल, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, र जिल्ला सहकारी सङ्घका पूर्वअध्यक्ष पूर्णलाल श्रेष्ठ लगायतका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

वडा अध्यक्ष ढुङ्गेलले यस्ता मौलिक परम्पराले स्थानीय संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

स्थानीय चन्द्रबहादुर श्रेष्ठका अनुसार, यो पूजा केवल धार्मिक अनुष्ठान मात्र नभई समुदायबीचको एकता र भाइचारा साटासाट गर्ने माध्यम पनि बनेको छ।

यस पूजामा स्थानीयका तीन पुस्ते परिवारहरूको सहभागिताले विशेष रौनक थपेको थियो।

घर-घरमा छुट्टाछुट्टै भान्छा भए पनि वर्षमा एक पटक यसरी भेला भएर पूजा गर्दा आपसी सद्भाव र एकता बढ्ने स्थानीय बताउँछन् ।

संसारी पूजामा सामूहिक रूपमा पूजा अर्चना गरी बाख्राको बलि दिने र सोही प्रसाद ग्रहण गर्ने पुरानो चलन छ। पूजा सकिएपछि सबैजना मिलेर सोही स्थानमा सामूहिक भान्छा (भोज) तयार गरी प्रसाद खाने गर्दछन्।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ