+
Search

ताजा अपडेट +

पपुलर +

अस्पतालहरूको विपद् पूर्वतयारी बलियो बनाइँदै : बागमती प्रदेशका आठ अस्पतालको कार्यशाला

trishuli hospital is hub hospital workshop in Kathmandu
डबली खबर
२ महिना अगाडी

५ फागुन, नुवाकोट । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईको आयोजनामा बागमती प्रदेशका हब तथा स्याटेलाइट अस्पतालहरूको ‘अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना’ विकास सम्बन्धी दुई दिने कार्यशाला सुरू भएको छ।

कार्यशालामा बागमती प्रदेश अन्तर्गतको एक हब अस्पताल ‘त्रिशूली अस्पताल’ र सात वटा स्याटेलाइट अस्पतालहरू अल्का अस्पताल, नेपाल मेडिसिटी अस्पताल, काठमाडौँ मेडिकल कलेज, मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, नेपाल मेडिकल कलेज, किस्ट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल र काठमाडौँ मोडल अस्पतालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

आठ वटा अस्पतालका स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारी गरी ३२ जनाभन्दा बढीको उपस्थिति रहेको यस कार्यशालामा विज्ञ प्रशिक्षकहरूले मार्गनिर्देशन गरेका थिए ।

सहभागीहरूले डिजिटल प्रविधिको प्रयोग गर्दै ‘हस्पिटल सेफ्टी इन्डेक्स प्लस’ एपमार्फत आआफ्ना अस्पतालहरूको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पार्ने थिए ।

कार्यशालामा जनस्वास्थ्य आपतकालीन अवस्थाका लागि समन्वय, सञ्चार संयन्त्र, विपद् व्यवस्थापन इकाई सञ्जाल, र हब–स्याटेलाइट अस्पताल सञ्जाल सुदृढीकरणका विषयमा प्रस्तुतीकरण गरिनुका साथै योजनाको परीक्षणका लागि ‘टेबलटप’ अभ्याससमेत गरिएको आयोजकले जनाएको छ।

कार्यशालामा विकास गरिएका योजनाहरूलाई सम्बन्धित अस्पतालमा कार्यान्वयनमा लगिने र कर्मचारीहरूलाई थप अभिमुखीकरण गरी प्रभावकारी बनाइएको भनाइ छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी, सचिव डा. श्रीकृष्ण श्रेष्ठ, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रकी निर्देशक येशोधा अर्याल, विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा. एलीसन गोकोटानो र विज्ञ प्रशिक्षक डा. आशिष श्रेष्ठलगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा डा. प्रकाश बुढाथोकीले ‘हस्पिटल सेफ्टी इन्डेक्स प्लस’ जस्ता डिजिटल उपकरणको प्रयोगले अस्पतालहरूको तयारी अवस्था मापन र योजना निर्माणमा गुणात्मक सुधार ल्याउने विश्वास व्यक्त गरेका छन् । उनले हब–स्याटेलाइट अस्पताल सञ्जाललाई थप सुदृढ बनाउन, मन्त्रालयसँग नियमित समन्वय गर्न र अभ्यासमूलक तयारीलाई निरन्तरता दिनुपर्नेमा विशेष जोड दिए ।

विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा सञ्चालित यस कार्यक्रमले अस्पतालहरूको आपतकालीन व्यवस्थापन क्षमतामा सुधार ल्याउने लक्ष्य राखेको थियो । यस पहलले भविष्यमा आइपर्ने विपद्का समयमा अस्पतालहरूको प्रतिकार्य क्षमतालाई उल्लेखनीय रूपमा वृद्धि गर्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ