+
Search

ताजा अपडेट +

पपुलर +

दरबार खानेपानी विस्तारको पहिलो चरण अन्तिम चरणमा

The first phase of Durbar Water Supply Expansion is in its final stages.
डबली खबर
२ महिना अगाडी

१५ माघ, गुरुङगाउँ । नुवाकोटको विदुर नगरपालिकामा एक घर–एक खानेपानी धारा पुर्‍याउने दीर्घकालीन लक्ष्यसहित तादी खोलाबाट लिफ्ट प्रणालीमार्फत खानेपानी विस्तारको पहिलो चरण अन्तिम चरणमा पुगेको छ।

ऐतिहासिक नुवाकोट दरबार खानेपानी उपभोक्ता समितिको व्यवस्थापनमा सञ्चालन भइरहेको उक्त योजनाको विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ, वडा नम्बर २ का अध्यक्ष दीपक कायस्थ, जनप्रतिनिधिहरु तथा सरोकारवालाहरूले संयुक्त रूपमा स्थलगत निरीक्षण गरेका छन्।

निरीक्षणपछि नगरप्रमुख राजन श्रेष्ठले योजनाको दीर्घकालीन प्रभावकारी कार्यान्वयनका लागि तयार गरिएको विस्तृत परियोजना प्रतिवेदनअनुसार बाँकी चरणका कामहरू पनि अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् । उपभोक्ता समितिको व्यवस्थापनमा सञ्चालन भइरहेको यस योजनामा बागमती प्रदेश सरकारको तीन करोड ९३ लाख रुपैयाँ लगानी रहेको उनले जानकारी दिए ।

निरीक्षणका क्रममा पानी तान्ने परीक्षण कार्यको समेत अवलोकन गरिएको वडा अध्यक्ष दिपक कायस्थले जानकारी दिए । नियमित र गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउने वडाको प्राथमिकतालाई ध्यानमा राखी बागमती प्रदेश सरकार समक्ष क्रमनुगत योजना अन्तर्गत कार्य थालनी गरिएको उनले बताए ।

गुरुङगाउँमा रहेको ट्याङ्कीदेखि मालिकामा रहेको ट्यांकीमा पानी पुर्याईने कार्य केहि सातामा सम्पन्न हुने जनाएको छ। सोपछि ट्याङ्कीमा पानी संकलन गरी घरघरमा वितरण सुरु गर्ने तयारी गरिने उपभोक्ता समितिका अध्यक्ष रामराजा श्रेष्ठले जानकारी दिए ।

दशकौँदेखि खानेपानी अभाव झेल्दै आएका वडाबासीका लागि यो योजना जीवनस्तर सुधारतर्फको महत्वपूर्ण उपलब्धि बन्ने विश्वास गरिएको छ।

उक्त खानेपानी योजना सम्पन्न भएसँगै विदुर नगरपालिका-२ नुवाकोटका चार सयभन्दा बढी घरधुरीका परिवारहरु प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ