+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा ३०४ औँ पृथ्वी जयन्तीको भव्य तयारी

Grand preparations for 304th Earth Day in Nuwakot
डबली खबर
४ महिना अगाडी

१३ पुस, नुवाकोट। आगामी पौष २७ गते मनाइने ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई विदुर नगरपालिकाले भव्य रूपमा मनाउने तयारी थालेको छ।

नगरपालिकाले विदुरमा आयोजित जनप्रतिनिधि, सुरक्षा निकाय तथा सरोकारवालहरुसँगको बैठकमा विभिन्न प्रस्तावहरू सङ्कलन गर्दै सरसफाइ, खेलकुद, सांस्कृतिक झाँकी र विशेष समारोहसहितको कार्यतालिकाको सुझाव सङ्कलन गरेको छ ।

पृथ्वी जयन्तीलाई केवल औपचारिक समारोहमा मात्र सीमित नराखी शारीरिक, बौद्धिक विकाससँगै राष्ट्रिय दिवससंग जोड्न नगरपालिकाले विविध विद्यालयस्तरीय प्रतियोगिताहरू समेत तय गरिने नगरप्रमुख राजन श्रेष्ठले बताए ।

साताव्यापी कार्यक्रमअन्तर्गत नुवाकोट दरबारदेखि देवीघाटमा रहेको पृथ्वीनारायणको समाधिस्थलसम्मको ‘साइकल यात्रा’, भेट्रान्स फुटबल, दौड प्रतियोगिता, वक्तृत्वकला र हाजिरी जवाफ जस्ता क्रियाकलापहरू सञ्चालन गरिनेछन्। साथै, देवीघाटमा मानवीय सेवाको भावले रक्तदान कार्यक्रम समेत आयोजना गरिने नगरपालिकाले जनाएको छ।

कार्यक्रमको पूर्व तयारीका लागि पौष २३ गते नुवाकोट दरबार परिसर र पौष २६ गते देवीघाट, जालपादेवी मन्दिर तथा चौसठीधाम क्षेत्रमा बृहत् सरसफाइ अभियान चलाइनेछ।

राष्ट्रिय एकताको भावनालाई सुदृढ तुल्याउन यसपटकको प्रदर्शनीमा धिमे, भजन, पञ्चेबाजा, लाखे, घाटु नाचका साथै घोडेनाच, कुमाल, मगर, क्रिश्चियन र मुस्लिम संस्कृति झल्कने झाँकीहरूको समेत प्रतिनिधित्व रहनेछ।

यसै अवसरमा भूपू सैनिक, भूपू प्रहरी, स्काउट र राष्ट्रिय सेवा दललाई आफ्ना पोसाकसहित सहभागी हुन आह्वान गरिएको छ।

नगरपालिकाले जिल्लाका सरकारी तथा गैर-सरकारी कार्यालय, बैंक, वित्तीय एवं शैक्षिक संस्थाहरूलाई समारोहमा उपस्थितिका लागि अनुरोध गर्दै सम्पूर्ण सञ्चार माध्यमहरूलाई प्रचार-प्रसारमा सहयोग गर्न र जिल्ला प्रशासन कार्यालयमार्फत आवश्यक समन्वय गर्न आग्रह गरेको छ।

कार्यक्रममा सहभागीहरुले पृथ्वी जयन्ती तथा एकता दिवस जिल्लास्तरीय रुपमा मनाउन सुझाव दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ