१३ पुस, नुवाकोट । अर्घाखाँची र रुकुम (पश्चिम) का विभिन्न स्थानमा फेला परेका शङ्कास्पद विस्फोटक वस्तुहरूलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले सफलतापूर्वक डिस्पोज गरेको छ।
गत पुस ११ गते अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नं. ११ स्थित बोक्से इलाकामा शङ्कास्पद वस्तुहरू फेला परेका थिए। स्थानीयले खबर गरेलगत्तै पुगेको नेपाली सेनाको विशेष टोलीले त्यहाँ रहेको गृनेड, प्रेशर कुकर बम र डेटोनेटरलाई सुरक्षित स्थानमा लगी डिस्पोज गरेको छ। फेला परेका वस्तुहरू सशस्त्र द्वन्द्वकालका हुन सक्ने अनुमान गरिएको छ।
यसैगरी, रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका वडा नं. १, चौरजहारी विमानस्थल नजिकै अर्को एक शङ्कास्पद वस्तु फेला परेको छ। एक स्थानीयको घरको पर्खाल लगाउन जग खन्ने क्रममा उक्त शङ्कास्पद वस्तु फेला परेको थियो।
विस्फोटक वस्तु फेला परेपछि नेपाली सेनाको चण्डीदल गणबाट खटिएको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई सुरक्षित तवरले डिस्पोज गरेको छ। सेनाले समयमै वस्तु डिस्पोज गरेपछि सम्भावित जोखिम टरेको र स्थानीय जनजीवन सामान्य बनेको जानकारी दिएको छ।
नेपाली सेनाले यस्ता शङ्कास्पद वस्तुहरू फेला परेमा तुरुन्त नजिकैको सुरक्षा निकायमा खबर गर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ।

प्रतिक्रिया