३० असोज, नुवाकोट । बेलकोटगढी नगरपालिका-१० स्थित निरञ्जना भगवती मन्दिर परिसरमा रहेको जमराघरको पुनर्निर्माणपछि आज औपचारिक उद्घाटन गरिएको छ ।
बिहीबार एक कार्यक्रमका बीच बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङ र ६ नम्बर बाहिनी अड्डाका सहायकरथी सुबासजङ्ग थापाले संयुक्तरुपमा उक्त भवनको उद्घाटन गरेका हुन् ।
नेपाली सेनाले सञ्चालन गरेको शीघ्र प्रभाव आयोजना अन्तर्गत ऐतिहासिक तथा धार्मिक महत्त्व रहेको ऐतिहासिक महत्त्वको निरञ्जना भगवती मन्दिर परिसरमा नेपाली सेना र बेलकोटगढी नगरपालिकाको संयुक्त सहकार्यमा “जमरघार” पुनर्निर्माण सम्पन्न गरी नेपाली सेनाको शेर गणले उक्त “जमराघर” को निरञ्जना भगवती मन्दिर संरक्षण समितिलाई हस्तान्तरण गरेको शेर गणका गणपति अशोककुमार मल्लले जानकारी दिए ।
स्थानीय पालिकाको १३ लाख रुपैँया र नेपाली सेनाबाट १० लाख रुपैँया विनियोजित बजेटबाट पुनर्निर्माण गरिएको उनले जानकारी दिए । उक्त जमराघर जीर्ण अवस्थामा रहेकोले नयाँ जमराघर पुनर्निर्माणले धार्मिक रीतिरिवाजको तथा संस्कृतिको संरक्षण र संवर्द्धनमा टेवा पुग्नुको साथै ऐतिहासिक धरोहरलाई जिवितै राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए ।
नेपाली सेनाले शीघ्र प्रभाव योजनाको अन्तर्गत स्थानीय समुदाय प्रत्यक्ष लाभान्वित हुने गरी विभिन्न कार्यहरु गर्दै आईरहेकोमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्वका संरचनाहरुलाई संरक्षण तथा संवर्द्धन गर्ने कार्यक्रमले समेत अग्रणी भूमिका निर्वाह गर्दै आईरहेको छ।
पृथ्वीनारायण शाहले जयन्त रानाामाथि विजय प्राप्त गरेदेखि नै दसैँका बेला सामूहिक रूपमा उक्त जमराघरमा जमरा राख्ने परम्परा चलिआएको मन्दिरका पुजारी भोलाप्रकाश पौडेलले बताए ।

प्रतिक्रिया