२ भाद्र, नुवाकोट । बागमती प्रदेश सरकारका नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले वित्तीय व्यवस्थापन गर्न चुनौती रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन नुवाकोटको आयोजनामा बट्टारमा भएको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री तामाङले उक्त भनाई राखेका हुन् ।
मन्त्री तामाङले भने “बागमती प्रदेशका स्रोत र साधनहरु सिमित र संकोचित रहेको छ । प्रदेशको एकल अधिकारमा रहेको करको दयारा एकदमै संकोचित र सानो छ। सानो पूँजीले ठुलो काम गर्न र व्यवस्थापन गर्न चुनौतीपूर्ण छ।”
चुनौतीका बाबजुत पनि क्षेत्र, वर्ग, लिङ्ग र सबैलाई समावेशी गरेर काम गर्नुपर्ने आवश्यकता रहेको मन्त्री तामाङले बताए । क्षेत्रीय, वर्गीय र लिङ्गिय सन्तुलन गरेर बजेटलाई राम्रो बनाएर लगिने छ।
चालुआर्थिक वर्षको प्रदेशको बजेटमा लगभग ३८ प्रतिशत चालु खर्च र ५२ प्रतिशत पूँजीगत खर्च रहेको बताउँदै मन्त्री तामाङले भने “चालु खर्च वर्षेनी बढेर गईरहेको छ । यसले गर्दा दिर्घकालिन रुपमा दायित्व बढ्दै जाने हुनाले वित्तिय व्यस्थापन गर्न असर गर्छ ।”

प्रतिक्रिया