२१ चैत, नुवाकोट । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा नुवाकोटका स्थानीय तहरुले सन्तोषजनक रुपमा बजेट खर्च गर्न नसकेको देखिएको छ । चालुभन्दा पुँजीगत खर्च झन न्यून देखिएको छ। पूँजीगत खर्च ९.०५ प्रतिशत मात्रै भएको तथ्यांकले देखाएको छ ।
बुधबार आयोजित दोस्रो त्रैमासिक प्रगति समिक्षा कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका समन्वय अधिकारी विष्णुप्रसाद पौडेलले उक्त तथ्यांक सार्वजनिक गरेका हुन् । उनका अनुसार १२ वटै स्थानीय सरकारले ४६ करोड ४९ लाख ९६ हजार ४१९ रुपैयाँ मात्रै पूँजीगत खर्च गरेको छ। यस वर्ष सरकारले नुवाकोटका स्थानीय तहको लागि पूँजीगत खर्चका लागि दुई अर्ब ५७ करोड १३ लाख ८० हजार २३७ रुपैयाँ छुट्याएको थियो ।
फागुन मसान्तसम्ममा यहाँका स्थानीयतहले पुँजीगत खर्चको हिस्सा समग्रमा १० प्रतिशत कटाउन सकेका छैनन् । दुई नगर र १० गाउँपालिका रहेको नुवाकोटमा चालु र पुँजीगतको समग्र खर्च प्रतिशत पनि २५ नाघेको छैन ।
सबै स्थानीय तहको समग्र बजेट खर्च न्यून छ भने पुँजीगत खर्च निराशाजनक छ। नगरभन्दा गाउँपालिकातर्फ खर्च प्रतिशत अलि बढी भएको पाइएको छ । सबभन्दा धेरै पुँजीगत खर्च ककनी गाउँपालिकाले गरेको छ भने सबभन्दा कम तादी गाउँपालिकाले खर्च गरेको छ। ककनीले पुँजीगत खर्च १५.८६ प्रतिशत र चालुतर्फ ३७.३७ प्रतिशत गरेको छ । तादीले पुँजीगत खर्च ०.९७ प्रतिशत र चालुतर्फ ३५.१० प्रतिशत गरेको छ ।
पुँजीगत खर्चभन्दा चालू बढी
चालू आर्थिक वर्षमा नुवाकोटका १२ वटै स्थानीय तहले गरेको खर्चको दर पुँजीगतभन्दा चालूतर्फको बढी देखिन्छ । पुँजीगततर्फ भने विनियोजित दुई अर्ब ५७ करोड १३ लाख ८० हजार २३७ रुपैयाँमध्ये हालसम्म ९.०५प्रतिशत अर्थात् २३ करोड २५ लाख ९२ हजार ५९६ रुपैयाँ खर्च हुन सकेको हो ।

प्रतिक्रिया