+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा क्षयरोग निवारक उपचार सुरु

Tuberculosis preventive treatment begins in Nuwakot
डबली खबर
१ साल अगाडी

१२ चैत, विदुर । नुवाकोट जिल्लामै पहिलोपटक विदुर नगरपालिकाले क्षयरोग निवारक उपचार सेवा सुरु गरेको छ ।

विश्व क्षयरोग दिवसको अवसर क्षयरोग रोगका बिरामीका परिवारका एक बालकलाई विदुर नगरपालिकाका उपमेयर प्रभा बोगटीले क्षयरोग निवारक औषधी खुवाएर सुरु गरेकी हुन् ।

स्वास्थ्य मापदण्डको आधारमा क्षयरोग भएका परिवारका बालबालिका कुपोषित रहेमा औषधी खुवाईने नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले बताए । राष्ट्रिय क्षयरोग रोकथाम प्रोटोकल पारित भएको परिपत्रअनुसार उक्त उपचार सेवा सुरु गरिएको उनले बताए ।

यस वर्षको क्षयरोग दिवसको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने रहेको छ । 

उपमेयर प्रभा बोगटीले नगरपालिकाले क्षयरोगको खोजपड्ताल कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिईन् । खोजपड्ताल कार्यक्रमले पालिकाबाट क्षयरोग रोगलाई मुक्त गर्न सकिने लक्ष्य लिइएको बताईन् ।

विदुर नगरपालिका-१ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक लेनिन रञ्जित र प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलले नगरका स्वास्थ्य कार्यक्रम तथा सेवालाई थप प्रभावकारी एवं लक्षित सेवाग्राही (नगरबासी) समक्ष पुराई स्वास्थ्य अबस्थाको सूचकलाई थप सुधारमा ल्याउन तर्फ लाग्न सुझाब दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलले क्षयरोग निवारणको लागी नगरपालिका मार्फत खोजपड्ताल सञ्चालन भइरहेको र दिवसको अवसरमा थप सहयोग पुग्ने कार्यक्रम मार्फत रोग नियन्त्रणमा नगरपालिकाले चनचेतनामूलक कार्यक्रम (नाटक) प्रस्तुत गरेको बताउनुभयो ।

क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सञ्चालनमा रहेको क्षयरोग स्वास्थ्य संयोजक गरिमा जोशीले जानकारी दिईन् ।

सन्देशमुलक नाटक प्रतियोगिता

दिवसको अवसरमा विदुर नगरपालिकाले सोमबार क्षयरोग सन्देशमुलक नाटक प्रतियोगिता गरेको छ ।

नगरका स्वास्थ्य चौकीहरुको प्रतिनिधित्व हुने गरी आयोजना गरिएको नाटकमा कल्याणपुर स्वास्थ्य चौकी प्रथम, शहरी स्वास्थ्य केन्द्र वडा नं ८ द्वितीय र शहरी स्वास्थ्य केन्द्र वडा नंं १० तृतीय भएका छन् ।

विजेताले क्रमश: नगद पुरस्कार ५ हजार, ३ हजार र २ हजारसहित प्रमाणपत्र प्राप्त गरेको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले जानकारी दिए ।

नाटकमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंमसेविका र क्षयरोग खोजपड्ताल समितिका सदस्यहरुले सहभागिता जनाएका थिए । नाटकमार्फत् क्षयरोग समयमै उपचार गरे निको हुने र औषधी नि:शुल्क पाईने सन्देश दिएका थिए ।

क्षयरोग एक सरुवा रोग हो जुन माइकोव्याक्टेरियम ट्युवरकुलोसिस भन्ने आंखाले देख्न नसकिने सुक्ष्म किटाणुबाट हुन्छ। यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वास प्रश्वासको माध्यमबाट सर्दछ। फोक्सोको क्षयरोग भएका विरामीहरुले खोक्दा, हाच्छिउँ गर्दा र थुक्दा क्षयरोगका किटाणुहरु वाहिर वातावरणमा निस्कन्छन् र स्वस्थ मानिसमा श्वास प्रश्वासको माध्यमबाट फोक्सोमा पुग्दछन् र क्षयरोग लाग्न सक्छ।

सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्ममा क्षयरोग मुक्त नेपाल हासिल गर्ने लक्ष्यतर्फ राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र अग्रसर रहेको छ। हरेकबर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन भने २० लाखको क्षयरोगकै कारणले मृत्यु हुने गरेको डरलाग्दो तथ्याङ्क छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ