८ चैत, नुवाकोट । विदुर नगरपालिकामा दुईदिने क्षयरोग खोजपड्ताल शिविर गरिएको छ । शिविरमा आएका ३७३ जनामध्ये ४९ जना शंकास्पद देखिएका छन्। नुवाकोटका १२ पालिकामध्ये विदुर एक हो ।
नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानमा सञ्चालन गरिएको शिविरबाट उक्त सङ्ख्यामा बिरामी फेला पारिएको हो ।
चैत ७ र ८ गते नि:शुल्क क्षयरोग खोजपड्ताल शिविरको देवीघाटमा २१ जना र गेर्खुटारमा २८ जना शंकास्पद बिरामी फेला परेको नगरपालिकाका स्वास्थ्य प्रमुख रामराजा भण्डारीले बताए ।
एआई पद्धतिको डिजिटल पोर्टेबल आधुनिक मेशिनबाट विशेषज्ञ चिकित्सकसहितको टोलीले छातीको एक्सरे विधिबाट स्वास्थ्य परीक्षणमा गरिएको मेयर राजन श्रेष्ठले बताए । दिर्घरोगी, बयोवृद्धा, क्षयरोगको सम्पर्कमा आएका जोखिमपूर्ण समूहलाई लक्षित गर्दै शिविर आयोजना गरिएको उनले बताए । सबै स्वास्थ्य संस्थाबाट निःशुल्क प्राप्त हुने औषधी नियमित सेवन गरेमा समयमै रोग निको हुने हुँदा नडराउन, नआत्तिनु तथा नलुकाउन उनको सुझाव छ।
क्षयरोग शंकास्पद बिरामीको खकार नमूनालाई थप परीक्षणको लागि त्रिशूली अस्पतालमा पठाइएको क्षयरोग स्वास्थ्य संयोजक गरिमा जोशीले जानकारी दिईन् ।
राष्ट्रिय क्षयरोग केन्द्र, भक्तपुर र त्रिशूली अस्पतालका चिकित्सक तथा स्वास्थ्य प्रविधिकहरुबाट सेवा प्रदान गरिएको शिविरमा जनप्रतिनिधि, स्वास्थ्यकर्मीलगायतले समेत क्षयरोग भए नभएको जाँच गराएका थिए ।

प्रतिक्रिया