२० फागुन, काठमाडौं । नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समिति र पत्रकार प्रेस चौतारी नेपाल एशोसिएट प्रदेशले दिवंगत पत्रकार श्यामसुन्दर पुडासैनीको पारिश्रमिक बापतको करिब २२ लाख रुपैयाँ प्राइम टाइम्स टेलिभिजनले अझै भुक्तानी नगरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पत्रकार महासंघका महासचिव अशेष अधिकारी र प्रेस चौतारी नेपाल एशोसिएट प्रदेशका महासचिव मनोज न्यौपानेले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै श्रमजीवी पत्रकारको मेहनतको मूल्य मृत्युपछि समेत नपाउनु अत्यन्त दुःखद विषय भएकोमा ध्यानाकर्षण गराएको हो ।
टेलिभिजनका लेखा अधिकृतसँग भएको संवादमा २२ लाखमध्ये १७ लाख रुपैयाँ भुक्तानी गर्ने सहमति भएको भए पनि सो रकममध्ये विभिन्न समयमा १० लाख रुपैयाँको चेक दिएको तर खातामा रकम नहाल्दा भुक्तानी लिन नसकिएको उल्लेख छ।
महासंघले टेलिभिजनका सञ्चालक तथा पत्रकार ऋषि धमलाको नेतृत्वमा सञ्चालित संस्थाबाट यस्तो व्यवहार हुनु झन् दुःखद भएको बताउँदै पटक–पटक स्वर्गीय पुडासैनीका दाजुलाई भुक्तानी दिने आश्वासन दिए पनि हालसम्म रकम नपुगेकोप्रति खेद व्यक्त गरेको छ।
‘दिवंगत पुडासैनीको श्रमको पारिश्रमिक यथाशीघ्र उनको परिवारलाई हस्तान्तरण गरियोस्,’ महासंघले चेतावनी दिँदै भनेको छ,’अन्यथा, महासंघ कडा आन्दोलनसहित मैदानमा उत्रनेछ ।’
प्रेस चौतारी नेपाल एशोसिएट प्रदेशले भनेको छ, ‘टेलिभिजनका सञ्चालक देशकै सक्रिय र जुझारु पत्रकार ऋषि धमलाकै नेतृत्वमा रहेको संस्थाबाट दिवङ्गत पत्रकार पुडासैनीमाथि भएको अन्यायपूर्ण व्यवहार निन्दनीय छ । टेलिभिजनका सञ्चालक धमला स्वयंले नै पटक–पटक स्वर्गीय पुडासैनीका दाजुलाई भुक्तानी दिने आश्वासन दिए पनि हालसम्म रकम भुक्तानी नहुनुले सिङ्गो प्राइमटाइम्स टेलिभिजन र पत्रकार ऋषि धमलाको नियतमाथि प्रश्न उठेको छ । पुडासैनीका पक्षमा संगठन कडा भन्दा कडा आन्दोलनसहितका प्रक्रियामा अघि बढ्न बाध्य हुने छ । प्रेस चौतारी नेपाल पत्रकारहरूको अधिकार र न्यायका लागि सधैँ कटिबद्ध र प्रतिबद्ध छ।’
गत पुस महिनामा नियमित काम सकेर कोठा गएका पुडासैनी कोठामै ढलेका थिए । उनलाई हेल्पिङ हन्ड्स अस्पताल पुर्याइएको थियो । अस्पतालमा चिकित्सकहरूले उनलाई मृत घोषित गरेको थियो ।

प्रतिक्रिया