७ फागुन, काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)ले आफ्नो ६४औँ वार्षिकोत्सवका अवसरमा १२ जना कर्मचारीलाई पुरस्कार प्रदान गरेको छ ।
बुधबार राससको केन्द्रीय कार्यालय भद्रकालीमा आयोजना गरिएको कार्यक्रममा नुवाकोटका फोटो पत्रकार हरिराम भेटुवाललाई उत्कृष्ट फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ । उनलाई सम्मानपत्रसहित बीस हजार नगद रुपैँयाले प्रदान गरिएको छ ।
उक्त अवसरमा उत्कृष्ट जिल्ला समाचारदाता पुरस्कार ललितपुरका माधवप्रसाद घिमिरे, कैलालीका तिलकराज ओझा र सुनसरीकी सङ्गीता राईलाई दिइएको छ । उनीहरूलाई जनही २० हजार नगद र प्रमाणपत्र प्रदान गरिएको हो ।
यसैगरी, उत्कृष्ट आलेखतर्फको पुरस्कार झापाका विशेष समाचारदाता चन्द्रकला भण्डारी र सम्पादक टिकाराम सुनारलाई प्रदान गरिएको छ । प्रमाणपत्रका साथ यो पुरस्कारको राशि जनही १० हजार दिइएको छ ।
उत्कृष्ट सम्पादनतर्फको पुरस्कार अन्तर्राष्ट्रिय समाचार सम्पादन शाखाका सम्पादक दिलीपप्रसाद शर्मा र नेपाली समाचार सम्पादन शाखाका वरिष्ठ सम्पादन सहयोगी छविलाल माललाई दिइएको छ । उनीहरूलाई जनही रु १० हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।
यसैगरी, उत्कृष्ट समाचार सङ्कलनतर्फ भरतपुर कार्यालय प्रमुख नारायणप्रसाद अधिकारी र केन्द्रीय कार्यालयका समाचारदाता कालिका खड्कालाई पुरस्कार प्रदान गरिएको छ । उहाँहरूलाई जनही रु १० हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।
उत्कृष्ट कर्मचारीतर्फ केन्द्रीय कार्यालयका कार्यालय सहयोगी राजिनन साह र मधेस प्रदेश कार्यालय जनकपुरका कार्यालय सहयोगी सूर्यप्रसाद बराललाई प्रदान गर्दै नगद राशि रु १० हजार समेत दिइएको छ ।
नायब महाप्रबन्धक तथा समाचार महाशाखा प्रमुख सोमनाथ लामिछानेको संयोजकत्वमा गठित पुरस्कार छनोट सिफारिस उपसमितिको सिफारिसलाई सञ्चालक समितिले अनुमोदन गरेसगैँ उत्कृष्ट छनोटसहित सम्मान गरिएको हो ।
वार्षिकोत्सव समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पुरस्कृत र सम्मानितहरूलाई पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया