२४ माघ, नुवाकोट । माउन्टेन इनर्जी नेपाल लिमिटेडको खुद नाफा ४६.३ प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा कम्पनीले ५१ करोड २० लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३५ करोड ६३ हजार रुपैयाँ थियो ।
कम्पनीले विद्युत बिक्रीबाट ७९ करोड ८१ लाख ६ हजार रुपैयाँ आम्दानी गरेको छ। यो अनुपात यसै आवको तुलनामा ८.५४ प्रतिशत बढी रहेको छ । अघिल्लो आवको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ७३ करोड ५२ लाख ९२ हजार रुपैयाँ थियो ।
यस अवधिमा कम्पनीले बीमा दाबी भुक्तानी अन्तरगत आठ करोड छ लाख रुपैयाँ प्राप्त गरेको छ । साथै कम्पनीको व्याज खर्च १३ करोड ५९ लाख रुपैँयाबाट घटेर १२ करोड ४० लाख रुपैँया कायम भएको छ।
कम्पनीको विद्युत बिक्रीमा आम्दानी बढेको छ भने बीमा दाबी भुक्तानीको रकम प्राप्त गरेको छ। यस्तै, ब्याज खर्च पनि घटेको लगायतका कारणले खुद नाफा बढेको कम्पनीले जनाएको छ ।
यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर वितरण गरेपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख पुगेको हो ।
कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हुन बाँकि छ। यस अवधिमा कम्पनीको प्रतिफल आम्दानी एक अर्ब २४ करोड रहेको छ ।


प्रतिक्रिया