२१ पुस, २०८१ । नेपाली सेनाले आजदेखि गोरखा-काठमाडौं एकीकरण पदयात्रा सुरु गरेको छ ।
नेपाली सेनाका पश्चिम पृतनाका पृतनापति मधुकरसिंह कार्की, गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाले झण्डा र टर्च हस्तान्तरण गरी यात्राको शुभारम्भ गरेका हुन् ।
आइतबार गोरखा दरबारस्थित हनुमानभञ्ज्याङबाट नेपाली सेनाले यात्रा सुरु गरेको नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीले जानकारी दिए । पदयात्रा जिल्लागत रूपमा हस्तान्तरण हुँदै अघि बढ्ने जनाएको छ।
गोरखा राज्य विस्तारका क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदलमार्गको पहिलो यात्रा गणले गोरखा–धादिङ सीमाको घाटबेंसीसम्मको यात्रा गर्ने छ । आइतबार साँझ नै घाटबेंसीमा धादिङको शिवदल गणलाई यात्रा हस्तान्तरण गरिने जनाएको छ ।
पृथ्वीनारायणको पालामा स्थापना भएको नेपाली सेनाको पाँच प्रथम कम्पनी (श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुज)को झण्डासहित नेपाली सेनाले पदयात्रा सुरु गरेको हो ।
गोरखा, धादिङ, नुवाकोट हुँदै पुस २७ गते पृथ्वीजयन्तीका दिन काठमाडौं हनुमानढोकामा हुने विशेष समारोहमा पुगेर यात्रा टुंगिने नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया