पुस ९, कोलेनी । नुवाकोट जिल्लाका विभिन्न विद्यालयहरुका बालबालिकाहरुमा गरिएको सर्वेक्षण तथा परीक्षणबाट भिटामिन ‘ए’ को कमी देखिएको छ ।
मङ्गलबार तिलगङ्गा आखाँ प्रतिष्ठान काठमाडाैँले त्रिशूली अस्पतालमा आयोजनामा गरेको कार्यक्रममा आहार शिक्षा अन्तर्वार्ता अध्ययन सर्वेक्षणको प्रतिष्ठानका अनुसन्धान विभागका प्रमुख डा. रबा थापाले प्रारम्भिक प्रतिवदेन सार्वजनिक गरेकी हुन् ।
सर्वेक्षणमा नुवाकोटका सामुदायिक पाँच र एक संस्थागत विद्यालयका साँढे दुई वर्षदेखि १२ वर्षका ४०३ जना बालबालिकाहरुमा भिटामिनको मात्रामा कमी देखिएको डा. थापाले जानकारी दिईन् । गत असोजदेखि पुस महिनासम्म गरिएको सर्वेक्षण तथा परीक्षणमा बालक २०९ र बालिका १९४ जनाको परीक्षण गरिएको थियो ।
सर्वेक्षण विद्यालयका बालबालिकाहरूमा भिटामिन ‘ए’ को कमीको लागि ‘भेजी मिटर’ उपकरणको प्रयोग गरेर मूल्याङ्कन गरिएको प्रतिवेदन छ । ग्रामिण भेगका भन्दा सहरका विद्यालयका बालबालिकाहरुमा भिटामिनको कमी देखाएको छ ।
अध्ययनले खानपानमा आएको परिवर्तनका कारण धेरै बालबालिकामा भिटामिनको कमी देखिएको छ । ‘जङ्क फुड’बाट बालबालिकाले पर्याप्त आहार पाइरहेका छैनन् । यसको ‘साइड इफेक्ट’ बालबालिकामा भिटामिन ‘ए’ को कमी सानै उमेरमा देखिने गरेको जनाएको छ ।
डा. थापाकाअनुसार भिटामिनको कमी देखिनु मुख्य कारण बालबालिकाको गलत खाने बानी हो । भिटामिनको कमीका कारण बालबालिकाको व्यवहारमा धेरै परिवर्तन आउनुको साथै शैक्षिक जीवनमा असर पुग्ने बताईन् । बालबालिकाको खानपानमा अभिभावकले विशेष ध्यान दिने र आफ्नो आहारमा हरियो सागसब्जी र मौसमी फलफूल समावेश गर्नुपर्ने बताईन् ।
परीक्षणको क्रममा अभिभावक र शिक्षकहरुलाई भिटामिन ‘ए’ सम्बन्धि जनचेतनामुलक जानकारी दिईएको थियो । तीनमहिना अघिको तथ्यांक र पछिको तथ्यांकमा सुधार आएको डा. थापाले जानकारी दिईन् ।
कार्यक्रममा त्रिशूली अस्पताल विकास तथा व्यवस्यापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले भिटामिन ‘ए’ को कमी परीक्षणमा उपकरण ‘भेजी मिटर’ अस्पतालमा आवश्यक परेमा खरीद गर्न तत्पर रहेको बताए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटका सम्झना थपलियाले सर्वेक्षण तथा परीक्षणको लागि छनौटको आधारमा विद्यालय सिफारिस गरिएको जानकारी दिईन् ।
कार्यक्रममा त्रिशूली अस्पतालका निमित्त निर्देशक डा. राजेन्द्र लामा, चिकित्सक, नेपाल रेडक्रस सोसाईटि नुवाकोटका सभापति हरि श्रेष्ठ, विभिन्न विद्यालयका प्रधानाध्यापक, शहरी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, विद्यालय नर्सलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया