५ पुस, नुवाकोट । शिक्षा विकास तथा समन्वय इकाइको आयोजनामा माध्यमिक विद्यालयस्तरीय शैक्षिक प्रदर्शनीमा क्षेत्रपाल माध्यमिक विद्यालय प्रथम भएको छ ।
आज शुक्रबार त्रिशूलीमा भएको प्रदर्शनीमा क्षेत्रपालले ८४.६६ प्रतिशत प्राप्त गर्दै प्रथम स्थान हासिल गरेका हुन् । क्षेत्रपालका विद्यार्थीहरुले वर्षाको पानीलाई सिञ्चित र शुद्ध गरी प्रयोग गरिने प्रदर्शनी गरेका थिए ।
यसैगरी ग्रामसेवा मावि द्वितीय (८१.६६), घ्याङफेदी मावि तृतीय (७६.६६) र बागेश्वरी माविले सान्त्वना (७४.३३) स्थान हासिल गरेका छन् ।
विजेता विद्यालयहरुले क्रमश: पाँच हजार, तीन हजार, दुई हजार र एक हजार रुपैँया नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
विजेताहरुलाई विदुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष लेनिन रञ्जित र शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कुमार बस्नेतले पुरस्कार वितरण गरेका छन् ।
जिल्लाका ११ विद्यालयहरुले सहभागिता जनाएको प्रदर्शनीमा हिरामणि शर्मा, मोहन ढकाल र सुनिल भण्डारीले मुल्यांकनकर्ताको भूमिका खेलेका थिए ।
प्रदर्शनीना तयार गरिएको सामग्रीको पाठ्यक्रम, कच्चा पदार्थ, निर्माणमा मौलिकता तथा नविनता, उपयोगिता र प्रस्तुतिकरणको आधारमा मुल्यांकन गरिएको इकाई प्रमुख बस्नेतले जानकारी दिए ।
विद्यार्थीबाटै विद्यालय शिक्षाका उद्देश्यमा आधारित विषयगत पाठ्यक्रमअन्तर्गतका स्थानीय स्रोत र साधनको प्रयोग गरी निर्मित जीवनोपयोगी निर्माण तथा आविष्कारका सामग्री प्रदर्शनीमा प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया