हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले खानेपानीलाई नागरिकको स्वास्थ्यसँग जोडेर योजना निर्माण गर्नुपर्ने बताएका छन् ।
खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयद्वारा आयोजना गरिएको एनवास-मिसमा आधारित पालिकास्तरीय खानेपानी सफाई तथा स्वच्छता योजना सम्बन्धि गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले खानेपानीको स्वच्छता र गुणस्तरीयताका लागि स्वास्थ्यसँग जोडेर योजना निर्माण गर्नुपर्ने बताएका हुन् ।
मुख्यमन्त्री लामाले नागरिकका लागि स्वच्छ खानेपानीको व्यवस्थापन गर्नु सरकारको जिम्मेवारी रहेको बताए । एक घर, एक धाराको नीतिप्रति प्रदेश सरकार प्रतिबद्ध छ र यसलाई कार्यान्वयनमा रहेको बताए ।
मुख्यमन्त्री लामाले स्थानीय तहले खानेपानी आयोजनाको कामलाई प्राथमिकतामा राख्नुपर्ने र यसमा प्रतिबद्धता आवश्यक भएको भन्दै बजेट र योजना छरेर मात्र काम नहुने बताए ।
मुख्यमन्त्री लामाले शहरी क्षेत्रका खानेपानी लाइनको काम गर्दा सडक, टेलिकम, ढललगायतलाई एकीकृत गरी कार्य गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया