+
Search

ताजा अपडेट +

पपुलर +

प्रदर्शनमाथि भएको प्रहरी दमनको नेकपा प्रचण्ड-माधव समूहद्वारा भर्त्सना

nepal communist party ncp press release
डबली खबर
५ साल अगाडी

नुवाकोट – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले शान्तिपूर्ण प्रदर्शनमाथि भएको प्रहरी दमनको घोर भर्त्सना गरेको छ ।

नेकपा जिल्ला कमिटी सचिव नारायणप्रसाद खतिवडाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरोधमा अनेरास्ववियु र राष्ट्रिय युवा संघको आयोजनामा नुवाकोट क्याम्पस अगाडी भएको शान्तिपूर्ण धर्ना तथा विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेर अन्धाधुन्द लाठीचार्ज गरि आन्दोलनकारीहरुलाई घाईते बनाएको भनिएको छ ।

विज्ञप्तिमा भनेका छन्, ‘असहमति जनाउन र शान्तिपूर्ण विरोध गर्न पाउने नागरिकहरुको अधिकारमाथि धावा बोल्नु लोकतन्त्रको उपहास गर्नु हो भन्ने पार्टीको ठहर छ । आफुलाई लोकतन्त्रको हिमायती भनेर नथाक्ने ओली सरकारको लोकतन्त्रप्रतिको असहिष्णुता यस घटनाले उजागर गरेको छ।’

घटनामा उद्धव पनेरु, दिपेश चित्रकार, विनोद कोइराला, राजु तिमिल्सिना, श्रीकृष्ण अधिकारी निराजन बोगटी, रामचन्द्र पौडेल, कर्णबहादुर तामाङ र सुमन आलेमगर लगायत दर्जनौ आन्दोलनकारी सख्त घाईते भएको उल्लेख छ ।

केपी ओली पक्षधर नेकपाको जिल्ला कार्यकर्ता भेलामा सहभागी हुन नुवाकोट आएका उपप्रधानमन्त्री ईश्वर पोखरेलमाथि आक्रमण प्रयास भएको थियो । पोखरेल चढेको गाडीलाई लक्षित गरेर कार्यकर्ताहरुले ढुंगा हानेका थिए । तर, पोखरेलको गाडी छेउमा रहेको एक संस्थानको गाडीको सिसा फुटेको थियाे ।

यसअघि प्रचण्ड–माधव समूहका कार्यकर्ताले कालो झण्डा देखाउँदै मन्त्री पोखरेलको विरोध गरेका थिए । घटनापछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ