+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा हराउने महिला तथा बालबालिकाको संख्या वर्षेनि बढ्दो, ३ वर्षमा ४२७ जनाको उद्धार

१७ जनाको खोजी कार्य अझै जारी

office of nuwakot police building
डबली खबर
४ घण्टा अगाडी

साउन १४, विदुर । नुवाकोट जिल्लामा हराउने महिला तथा बालबालिकाको संख्या विगत तीन आर्थिक वर्षमा निरन्तर बढ्दै गएको तथ्यांक सार्वजनिक भएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार सामाजिक कारण, पारिवारिक बेमेल तथा सूचना प्रविधिको बढी प्रयोग जस्ता विविध पक्षहरूका कारण महिला तथा बालबालिका सम्पर्कविहीन हुने क्रम बढ्दो देखिएको जनाएको छ।

निवेदन दर्ता भएसँगै प्रहरीले खोजी तथा अनुसन्धान तीव्र बनाउँदा हराएका अधिकांश नागरिकलाई सकुशल फेला पारी परिवारको जिम्मा लगाउन सफलता मिलेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका निमित्त कार्यालय प्रमुख इकबाल हवारीले बताए ।

तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/०८१ मा महिला तथा बालबालिका हराएका कुल १२४ वटा निवेदन दर्ता भएका थिए, जसमध्ये प्रहरीको टोलीले १२१ जनालाई फेला पारेको थियो भने ३ जना अझै अज्ञात रहेका थिए। त्यसैगरी, आर्थिक वर्ष २०८१/०८२ मा यो संख्या बढेर १५१ पुगेकोमा १४७ जनालाई फेला पारिएको थियो र ४ जना बाँकी रहेका थिए।

पछिल्लो आर्थिक वर्ष २०८२/०८३ मा भने हराउनेको संख्या अझै बढेर १६९ पुगेको छ, जसमध्ये १५९ जनालाई प्रहरीले फेला पारेर अभिभावकको जिम्मा लगाएको छ भने १० जना अझै सम्पर्कविहीन रहेका छन्। यसरी तीन वर्षको समग्र अवधिमा परेका कुल ४४४ निवेदनमध्ये ४२७ जना फेला परेका छन् भने १७ जनाको खोजी कार्य अझै जारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार हराएका नागरिकको खोजीका लागि मातहतका सबै प्रहरी इकाईहरूलाई उच्च सतर्कताका साथ परिचालन गर्ने गरिएको छ।

मुख्य-मुख्य अपराधहरू जस्तै जबर्जस्तीकरणी, चोरी तथा मानव बेचबिखनका मुद्दा दर्ता संख्यामा तुलनात्मक रूपमा केही कमी आए तापनि महिला तथा बालबालिका हराउने घटनाको वृद्धिले समाजमा थप सजगता र अभिभावकीय निगरानी बढाउनुपर्ने आवश्यकता औंल्याएको छ। बाँकी रहेका १७ जनाको खोजी कार्यलाई तीव्रता दिइनुका साथै यस्ता घटना रोकथामका लागि समुदाय-प्रहरी साझेदारी कार्यक्रममार्फत जिल्लाभर सचेतनामूलक अभियान सञ्चालन भइरहेको प्रहरीको भनाइ छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ