असार १५, नुवाकोट । बागमती प्रदेश अन्तर्गतको नुवाकोट जिल्लाका १२ स्थानीय तहहरूले आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण, नगर/गाउँसभाबाट पारित तथा मन्त्रालयको प्रणालीमा प्रविष्टि (एन्ट्री) गर्ने कार्यलाई तीव्रता दिएका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नुवाकोटका कुल १२ स्थानीय तहमध्ये हालसम्म १० वटा स्थानीय तहले आफ्नो बजेट सफलतापूर्वक प्रविष्टि गरिसकेका छन् भने २ वटा तहको प्रविष्टि हुन बाँकी देखिएको छ।
बजेट प्रविष्टि गरिसकेका स्थानीय तहहरूमा विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकासहित ककनी, किस्पाङ, तादी, दुप्चेश्वर, पञ्चकन्या, म्यागङ, लिखु र सूर्यगढी गाउँपालिका रहेका छन्। यीमध्ये अधिकांश स्थानीय तहले कानुन बमोजिम असार १० गतेभित्रै बजेट सभामा पेस गरी सोही दिन वा त्यसको आसपासमा पारित समेत गरिसकेका छन्।
सूर्यगढी गाउँपालिकाले भने अन्य तहभन्दा अगाडि नै अर्थात् असार ५ गते नै बजेट पेस तथा पारित गरी प्रणालीमा अध्यावधिक गरिसकेको विवरणमा उल्लेख छ।
अर्कोतर्फ, तारकेश्वर गाउँपालिका र शिवपुरी गाउँपालिकाको बजेट विवरण पेश गरेका छैनन् । प्राविधिक तयारी वा आन्तरिक प्रकृयाका कारण ढिलाइ भएको हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया