असार ५, नुवाकोट । पछिल्लो समय सुरक्षा निकाय र ट्राफिक प्रहरीको सक्रियताका कारण सरकारी कोषमा राजस्व संकलन भएको छ।
गत जेठ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथिको कारबाही र अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीहरूको पक्राउ अभियानबाट कुल ६ लाख ९२ हजार २४८ रुपैयाँ राजश्व तथा जरिवाना असुल उपर भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सडक सुरक्षालाई चुस्त बनाउन र सवारी दुर्घटना न्यूनीकरण गर्न सञ्चालित नियमित चेकिङका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने ५९५ वटा सवारीसाधन कारबाहीमा परेका छन्।
तीव्र गति, मादक पदार्थ सेवन (मापसे), सडकको जीर्ण अवस्था र यात्रुको असावधानीका कारण क्षेत्रमा कुल १२ वटा सवारी दुर्घटना भएका थिए ।
जसमा १६ वटा सवारीसाधनहरुको दुर्घटनाहरूमा २ जनाको दुःखद मृत्यु भएको छ भने ३ जना गम्भीर र ८ जना सामान्य घाइते भएका छन्।
घाइतेहरूको उद्धार स्थानीय र प्रहरीको सक्रियतामा गरिएको थियो।
नियम मिच्ने ती सयौँ सवारी साधनहरूलाई गरिएको जरिवाना बापत मात्रै कुल ६ लाख २१ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको छ।

प्रतिक्रिया