असार ३, नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले चालु आर्थिक वर्षको जेठ महिनामा सम्पादन गरेका विभिन्न आपराधिक अनुसन्धान, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ। प्रहरीले शान्ति सुरक्षा कायम राख्न तथा अपराध न्यूनीकरणका लागि आफ्नो सक्रियता बढाएको प्रतिवेदनले देखाएको छ।
सो अवधिमा जिल्लाभित्र कुल ३० वटा विभिन्न मुद्दाहरू दर्ता भएका छन् । जसमध्ये २२ वटा मुद्दा फस्र्यौट भइसकेका छन् भने ८ वटा मुद्दा प्रक्रियामा रहेका छन्। यसै अवधिमा प्रहरीले विभिन्न अपराधमा संलग्न कुल ३० जना अभियुक्तहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । जसमा २९ पुरुष र १ महिला रहेका छन्। अझै पनि ९ जना फरार अभियुक्तहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
जिल्लामा दर्ता भएका मुख्य मुद्दाहरूमा अभद्र व्यवहारका ५ वटा, बैंकिङ कसुरका ४ वटा, आत्महत्या दुरुत्साहनका ३ वटा र चोरीका २ वटा रहेका छन्।
त्यस्तै सवारी ज्यान, ज्यान मार्ने उद्योग, बहुविवाह र सवारी भवितव्य ज्यानका २–२ वटा मुद्दा दर्ता भएका छन्। यसका साथै कुटपिट तथा अङ्गभङ्ग, बाल विवाह, र सवारी अङ्गभङ्गका १/१ वटा मुद्दा दर्ता भई प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
चालु मुद्दामा प्रतिवादी पक्राउ संख्या ३० जना रहेको छ भने फैसला कार्यान्वयनतर्फ लामो समयदेखि फरार रहेका १६ जना प्रतिवादीहरूलाई पक्राउ गरिएको छ। पक्राउ परेका ती फरार प्रतिवादीहरूबाट अदालतको फैसला बमोजिम कुल ६ महिना ३० दिन कैद सजाय र ७० हजार ७४८ रुपैयाँ जरिवाना समेत असुल उपर गरिएको छ।
घरेलु हिंसा तथा महिला र बालबालिका सम्बन्धी अपराधका घटनाहरू पनि यसै महिना दर्ता भएका छन्। जेठ महिनामा घरेलु हिंसाका कुल ८ वटा उजुरीहरू दर्ता भएका छन्, जसमा पीडित र पीडक दुवैको उमेर समूहको विश्लेषण गर्दा विशेष गरी १९ वर्षदेखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरू बढी संलग्न देखिएका छन्।
त्यसैगरी, जिल्लाबाट हराएका महिला, बालक, र ज्येष्ठ नागरिक गरी कुल ९ जना हराएकोमा प्रहरीको तत्परताका कारण ६ जना फेला परेका छन् भने बाँकी ३ जना महिलाहरूको खोजी कार्य तीव्रताका साथ भइरहेको छ।
ठाडो उजुरी तर्फ प्रहरी कार्यालयमा सिधै परेका ३२ उजुरी मध्ये ९ वटा फस्र्यौट भएका छन् र जिल्ला प्रशासन कार्यालय मार्फत आएका १३ उजुरी मध्ये २ वटा फस्र्यौट भई बाँकी प्रक्रियामा रहेका छन्।
जिल्लामा यस महिना आत्महत्याका ११ वटा घटना भएको थियो ती सबै आत्महत्या गर्न प्रयासका ११ वटा घटनाहरू रहेका छन्, जसको मुख्य कारण विषादी सेवन र झुण्डिने गरेको अनुसन्धानले देखाएको छ।
लागुऔषध नियन्त्रणतर्फ पनि प्रहरीले ठूलो सफलता हात पारेको छ। सो जेठ महिनामा लागुऔषध सम्बन्धी ५ वटा मुद्दा दर्ता गरी ९ जना प्रतिवादीहरूलाई नियन्त्रणमा लिइएको छ। जसमा २ जना प्रतिवादीहरू लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा समातिएका थिए।
प्रहरीले उनीहरूको साथबाट खैरो हिरोइन जस्तो देखिने पदार्थ ५ ग्राम २८ मिलिग्राम, ट्रामोल–५०, कुल १८४ क्याप्सुल, २५ ट्याब्लेट नाइट्राभेट–१० , र नाइट्राजेपाम ४० ट्याब्लेट बरामद गरेको छ। अपराध न्यूनीकरणका लागि प्रहरीले क्राइम प्याटर्न एनालिसिस तयार गरी कार्यान्वयनमा ल्याउनुका साथै आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूको अभिलेख राखी विशेष निगरानी बढाएको छ।
शान्ति सुरक्षा र प्रहरी परिचालनतर्फ जिल्लाभर नियमित गस्ती र चेकिङलाई तीव्रता दिइएको छ। प्रतिवेदन अनुसार महिनाभर ‘एलआरपी’ ६ पटक, ‘एसआरपी’ ३११ पटक, ‘एमआरपी’ २४४ पटक, ग्रामीण गस्ती ७६ पटक र मोबाइल गस्ती २१७ पटक परिचालन गरिएको थियो।
यसैगरी सवारी दुर्घटनातर्फ कुल १२ वटा दुर्घटनाहरू भएका छन्, जसमा १६ वटा सवारी साधनहरू संलग्न थिए। यी दुर्घटनाहरूमा परी २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर र ८ जना सामान्य घाइते भएका छन्, जसलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएको थियो। अत्यधिक गति, मादक पदार्थ सेवन, सडकको खराब अवस्था र यात्रुको गल्तीका कारण यी दुर्घटनाहरू भएको विश्लेषण गरिएको छ। सवारी चेकिङका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने ५९५ वटा सवारी साधनलाई कारबाही गरी कुल ६ लाख २१ हजार ५०० रुपैयाँ राजश्व संकलन गरिएको छ।
विपद व्यवस्थापन र अवैध हतियार नियन्त्रणका क्षेत्रमा पनि प्रहरीले उत्तिकै ध्यान दिएको छ।
सो महिना १ वटा अवैध हातहतियार तथा गोलीगठ्ठा बरामद गरिएको छ।
सम्भावित प्राकृतिक तथा अन्य विपद्को पूर्वतयारी स्वरूप गत जेठ १ गतेदेखि १० गतेसम्म नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सहभागितामा विपद् उद्धार सम्बन्धी विशेष संयुक्त अभ्यास संचालन गरिएको थियो।

प्रतिक्रिया