३१ वैशाख, विदुर । मूल्यवृद्धिको विरोधमा नुवाकोटका निर्माण व्यवसायी आन्दाेलित बनेका छन्।
बिहीबार नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलको टोलीले मूल्यवृद्धिले निर्माण कार्यमा समस्या भएकाे भन्दै सहायक प्रमुख जिल्ला अधिकारीमार्फत प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
संघले ज्ञापन-पत्र बुझाउँदै निर्माण कार्य स्वतः बन्द हुने गम्भीर परिस्थितिको जानकारी गराएको हो। नेपाल निर्माण व्यवसायी महासंघले दिएको अल्टिमेटमलाई सरकारले बेवास्ता गरेको भन्दै व्यवसायीहरू रुष्ट बनेका छन्।
पछिल्लो समय पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्यमा भएको अस्वभाविक वृद्धिका कारण निर्माण उद्योग धराशायी बनेको व्यवसायीहरूको ठहर छ।
ज्ञापनपत्र अनुसार, फागुन अघि प्रति लिटर १३९ रुपैयाँ रहेको डिजेलको मूल्य अहिले २२५ रुपैयाँ पुगेको छ भने बिटुमिनको मूल्य समेत प्रति केजी ७५ रुपैयाँबाट १५५ रुपैयाँ पुगिसकेको छ। यस मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरूलाई करिब १० अर्बको नोक्सानी भइसकेको दाबी गरिएको छ।
छिमेकी मुलुक भारतमा समेत मूल्य समायोजन भइरहँदा नेपाल सरकारले भने निर्माण व्यवसायीहरूका जायज मागलाई सम्बोधन नगरेकोमा संघले खेद व्यक्त गरेको छ। हालको विषम परिस्थितिमा पुरानै दररेटमा काम गर्न नसकिने र जति काम गर्यो त्यति नै घाटा हुने अवस्था सृजना भएको छ। यदि सरकारले समयमै मूल्य समायोजनको निर्णय नगरेमा देशभरका सम्पूर्ण निर्माण कार्यहरू बन्द हुने र त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी नेपाल सरकारले नै लिनुपर्ने चेतावनी दिइएको छ।
निर्माण व्यवसायीहरूले बैंक ग्यारेन्टी, बीमाको म्याद थप र उचित बजेट व्यवस्थापनका लागि समेत सरकार समक्ष जोडदार माग गरेका छन्।
निर्माण व्यवसायीहरूलाई कालो सूचीमा राख्ने वा बैंक ग्यारेन्टी जफत गर्ने जस्ता कार्य नगर्न समेत सचेत गराइएको छ। सरकारको तर्फबाट ठोस निर्णय नआएसम्म निर्माण क्षेत्रको यो गतिरोध अन्त्य हुने देखिँदैन।

प्रतिक्रिया