२९ फागुन, नुवाकोट । निर्वाचन आयोगले करोडौं रकम खर्च गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बदर मतको प्रतिशत उल्लेख्य देखिएको छ ।
यसैक्रममा नुवाकोटमा भएको बदर मतको हकमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग समन्वयमा उक्त बदरमतको निरीक्षण गरी प्रतिवेदन आयोगमा बुझाईने जिल्ला निर्वाचन कार्यालयका प्रमुख होमबहादुर थापामगरले बताए ।
नुवाकोटमा संवेदनशिल र सामान्य रहेको मतदान स्थलमा विगतमाभन्दा भयरहित ढङ्गले निर्वाचन शान्तिपूर्ण र सौहार्दपूर्ण रुपले भएको उनले बताए ।
मत गणनाको विवरणअनुसार नुवाकोटमा समानुपातिक निर्वाचन प्रणालीतर्फ करिब ८ प्रतिशतको हाराहारीमा मत बदर भएको छ । तर प्रत्यक्षतर्फ भने यो संख्या ११ प्रतिशत रहेको छ ।
प्रत्यक्षतर्फ नुवाकोट-१ मा ३ हजार ७४९ मत र नुवाकोट-२ मा ३ हजार ३६३ मत बदर भएको थियो । यसैगरी, समानुपातिकतर्फ नुवाकोट-१ मा २ हजार ८३० मत र नुवाकोट-२ मा २ हजार ७७३ मत बदर भएको थियो ।
नुवाकोट-१ मा शक्ति मा.वि. (क, ख) र वडा कार्यालय भवन (क, ख) मतदान केन्द्रहरूको समूहमा सबैभन्दा धेरै १४० मत बदर भएको थियो । यस निर्वाचन क्षेत्रमा सिता मा.वि. मतदान केन्द्रमा सबैभन्दा कम मात्र ३ मत बदर भएको थियो ।
तुलनात्मक रुपमा मतदातालाई मतदानमा सहभागी गराउने र बदर मत न्यूनीकरण गर्ने उद्देश्यले यसपटक प्रभावकारी रूपमा मतदाता शिक्षा सञ्चालन गरिएको थियो । तर प्रारम्भिक तथ्यांकले आयोगको अपेक्षाअनुसार बदर मत कम हुन नसकेको देखिएको छ ।
महिला, कानून र विकास मञ्च नुवाकोटका संयोजक राजकुमार आचार्य र राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिका नुवाकोटका अध्यक्ष शर्मिला थापामगरले मतदातालाई मतदान शिक्षाको कमि भएको बताएका छन् ।
आयोगको प्रारम्भिक अध्ययनअनुसार प्रत्यक्षतर्फ एउटै मतपत्रमा मतदाताले दुईवटा चुनाव चिह्नमा छाप लगाएका कारण धेरै मत बदर भएको पाइएको छ । एउटा मात्र उम्मेदवार छान्नुपर्ने मतपत्रमा दुई वा सोभन्दा बढी चिह्नमा मत संकेत गर्दा मतपत्र स्वतः बदर हुन्छ । यद्यपि बदर मतको वास्तविक प्रकृति र कारणबारे आयोगले विस्तृत अध्ययन गरिरहेको छ । यसका लागि मतदान अगाडि नै जिल्ला कार्यालयहरुलाई अध्ययन गर्न अनुरोध गरिएको र सोको रिपोर्ट आएपछि थप तथ्य बाहिर आउने आयोगले जनाएको छ ।
प्रतिक्रिया