+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा एकीकरण पदमार्ग पदयात्राको भव्य तयारी

डबली खबर
३ महिना अगाडी

१७ पुस, नुवाकोट । ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८२ को अवसरमा सञ्चालन हुने गोरखा–धादिङ-नुवाकोट-काठमाडौँ एकीकरण पदमार्ग पदयात्रा कार्यक्रमअन्तर्गत नुवाकोट जिल्लाको खण्डमा चार दिने पदयात्रा भव्य रूपमा आयोजना गरिने भएको छ ।

बट्टारमा आज भएको बैठकमा नेपाली सेनाका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकाय, शैक्षिक संस्था, भूतपूर्व सैनिक, बुद्धिजीवी, समाजसेवीलगायतको सहभागिता रहेको थियो ।

नेपाली सेनाको शेरगणका प्रमुख अशोककुमार मल्लले बैठकमा नुवाकोट र धादिङको सिमाना भर्‍याङभुरुङदेखि ककनीसम्म सञ्चालन हुने उक्त पदयात्रा यही पुस २३ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने कार्यक्रमको जानकारी दिए ।

बैठकमा विदुर नगरपालिका–२ का वडा अध्यक्ष दीपक कायस्थ, वडा नं. ८ का अध्यक्ष कमल श्रेष्ठ र वडा नं. १० का अध्यक्ष गणेशप्रसाद नेपालले एकीकरण पदमार्ग पदयात्रा कार्यक्रम नुवाकोट जिल्लामा सीमित कार्यक्रम नभई राष्ट्रिय पर्वको रूपमा स्थापित गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

वडाध्यक्ष कायस्थले एकीकरण पदमार्ग नेपालको एकीकरण इतिहाससँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण सांस्कृतिक तथा राष्ट्रिय पहिचानको कार्यक्रम भएकाले यसलाई राज्यस्तरबाट समेत प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए ।

वडाध्यक्ष नेपालले यस वर्ष पदयात्रा कार्यक्रमलाई भव्य र प्रभावकारी बनाउन स्वागत व्यवस्थापन तथा प्रचार–प्रसारका लागि आन्तरिक तयारी तीव्र रूपमा अगाडि बढाइएको जानकारी दिए ।

कार्यक्रमअनुसार पुस २३ गते भर्‍याङभुरुङ इलाकामा नेपाली सेनाको भैरव गण (धादिङ) र शेर गण (नुवाकोट) बीच पदयात्राको टर्च तथा झण्डा हस्तान्तरण गरिनेछ । त्यस अवसरमा स्थानीय जनप्रतिनिधि, बासिन्दा, भूतपूर्व सैनिक तथा सुरक्षा निकायको उपस्थितिमा विशेष स्वागत कार्यक्रम आयोजना गरिनेछ । सोही दिन पदयात्रा टोली सामरी भञ्ज्याङ, राइसिङ बजार हुँदै शुभघाट पुगेर रात्रि विश्राम गर्ने कार्यक्रम रहेको छ ।

पुस २४ गते शुभघाटबाट महामण्डल डाँडा हुँदै ऐतिहासिक नुवाकोट दरबार पुग्ने पदयात्रा सञ्चालन हुनेछ । नुवाकोट दरबार क्षेत्रमा जिल्ला प्रशासन, स्थानीय तह, सुरक्षा निकाय, विद्यालयका विद्यार्थी, महिला पञ्चेबाजा समूह तथा धिमे बाजासहित भव्य स्वागत कार्यक्रम आयोजना गरिनेछ । दरबार परिसरमा पृथ्वी जयन्ती तथा एकीकरण पदमार्गको ऐतिहासिक महत्त्वबारे संक्षिप्त मन्तव्यसमेत हुने जनाइएको छ । सोही दिन पदयात्रा टोली चतुराले पुगेर रात्रि विश्राम गर्नेछ ।

पुस २५ गते चतुरालेबाट ककनी गाउँपालिका–५ रानीपौवासम्म पदयात्रा सञ्चालन हुनेछ । रानीपौवामा स्थानीय जनप्रतिनिधि, भूतपूर्व सैनिक, विद्यार्थी र सर्वसाधारणले पञ्चेबाजासहित स्वागत गर्ने कार्यक्रम तय गरिएको छ ।

पुस २६ गते अन्तिम दिन रानीपौवाबाट पदयात्रा पुनः सुरु भई नुवाकोट–काठमाडौँ जिल्लाको सिमाना ककनी इलाकामा पुग्नेछ । त्यहाँ नेपाली सेनाको श्री शेर गणबाट भैरवी दल गण (काठमाडौँ) लाई टर्च तथा झण्डा पञ्चेबाजा, सैनिक ड्रिल र औपचारिक समारोहसहित हस्तान्तरण गरिने कार्यक्रम रहेको छ ।

पदयात्रालाई भव्य र ऐतिहासिक महत्त्वअनुसार सम्पन्न गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय नुवाकोटको समन्वयमा सरोकारवाला निकायसँग छलफलसमेत भइसकेको छ ।

एकीकरण पदमार्ग पदयात्राले पृथ्वीनारायण शाहको राष्ट्र एकीकरण अभियानलाई स्मरण गर्दै राष्ट्रिय एकता, देशभक्ति र ऐतिहासिक चेतनाको प्रवर्द्धन गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ