२३ मङ्सिर, नुवाकोट। स्थानीय कृषि उत्पादनलाई बढावा दिने र किसान तथा उपभोक्ताबीच सीधा सम्पर्क स्थापित गर्ने उद्देश्यका साथ विदुर नगरपालिका-९ बागटारमा कृषि हाट बजार’ सञ्चालनमा आउने भएको छ।
विदुर नगरपालिका र लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपालको संयुक्त साझेदारीमा हप्ताको एक दिन साप्ताहिक बजारको व्यवस्थापनमा यहि शुक्रबार मङ्सिर २६ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याउन लागिएको लायन्स क्लब अफ नुवाकोट त्रिशूलीका संस्थापक अध्यक्ष श्रीकृष्ण रिजालले जानकारी दिए ।
कृषि उपज फलफुल, तरकारी, अन्नबाली, पशुपन्छीजन्य उत्पादनहरु, स्थानीय घरेलु हस्तकला लगायतका सामग्रीहरुको बजारीकरण गरी कृषकहरुलाई व्यवसायिक एवं आत्मनिर्भर बनाउने उद्देश्यका साथ उक्त हाटबजार सञ्चालनमा ल्याउन लागिएको उनले बताए।
विदुर नगरपालिकाको १० लाख रुपैँया र लायन्स इन्टरनेसनलको पाँच लाख रुपैँयाको संयुक्त साझेदारीमा निर्मित कृषि हाट बजारको नगरप्रमुख राजन श्रेष्ठबाट उद्घाटन हुने कार्यक्रम रहेको छ ।
उक्त हाट बजार विदुर नपा-९ स्थित वडा कार्यालयको परिसरमा हरेक हप्ताको शुक्रबार लाग्नेछ।
हाटबजारमा कृषि तथा पशु विज्ञहरुको सेवा उपलब्ध हुने जनाएको छ ।
हरेक शुक्रबार बिहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुने यस बजारमा स्थानीय स्तरमा उत्पादित ताजा तरकारी, फलफूल तथा कृषिजन्य सामग्रीहरू कारोबार हुने अपेक्षा गरिएको जनाएको छ।





















प्रतिक्रिया