१४ मङ्सिर, विदुर । नुवाकोट जिल्ला अदालतले चालू आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर ११ गतेसम्मको फैसला कार्यान्वयन र समग्र न्यायिक कार्यसम्पादनको विवरण सार्वजनिक गरेको छ।
तथ्यांकअनुसार जरिवाना असुली र कैद भुक्तानीको लगत ठूलो मात्रामा बाँकी रहेको देखिएको छ । उक्त अवधिमा फैसला कार्यान्वयनका लागि कूल २३३ वटा लगत रहेकोमा कुल ५३ वटा मात्र फछ्यौट भई १८० वटा कार्यान्वयन हुन बाँकी छन् ।
सबैभन्दा धेरै बिगो भराउने सम्बन्धी १३३ लगतमध्ये १०५ वटा र बण्डा छुट्याउने सम्बन्धी ४९ लगतमध्ये ३६ वटा फैसला कार्यान्वयनमा जान बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।
जरिवाना, कैद र क्षतिपूर्तिको लगतमा ठूलो हिस्सा बाँकी छ । जरिवानाको कूल लगत २८ करोड ६१ लाख १८ हजार ७९८ रुपैँया रहेकोमा २८ लाख ९० हजार ७०० रुपैँया मात्र फछ्यौट भएको छ । बाँकी लगत २८ करोड ३२ लाख २८ हजार ९८ रुपैँया पुगेको छ ।
यसैगरी, कैदको लगत १ हजार ९४७ वर्ष, ११ महिना, १ दिन रहेकोमा कुल २२ वर्ष २ महिना १ दिन मात्र फछ्यौट भएको छ । जसले गर्दा १ हजार ९२५ वर्ष ९ महिना कैद भुक्तानी हुन बाँकी रहेको देखिन्छ । क्षतिपूर्तितर्फ पनि ४९ लाख ११ हजार ५२७ रुपैयाँ लगत रहेकोमा ४७ लाख २१ हजार ५२७ रुपैयाँ असुल हुन बाँकी छ ।
यद्यपि, अदालतले मुद्दा छिटो छरितो न्याय सम्पादन गर्ने रणनीति र सेवा प्रवाहलाई सहज बनाउन विभिन्न योजना तथा गतिविधिहरू अगाडि बढाएको छ । अदालतले फरक मुद्दा व्यवस्थापन प्रणाली अवलम्बन गरेको छ र मुद्दा दर्ताकै बेला कार्यतालिका दिने गरेको छ ।
साथै, अदालतले न्यायिक सुधारका लागि स्वचालित पेशी प्रणाली, एसएमएस प्रणाली र अनलाईन मुद्दा दर्ता तथा तारेखको सुविधा उपलब्ध गराइएको छ। अदालतमा सेवा प्रवाह बडापत्र, एक घण्टे सेवा, टेम्प्लेट सुविधा, गुनासो सुनुवाई, न्यायिक पहुँच तथा असहाय पक्षलाई वैतनिक वकीलको सुविधा जस्ता सेवाहरू उपलब्ध छन्।
अदालतबाट सूचना प्रविधिको माध्यमबाट अनलाईन तारेख तथा पेशी, अनलाईनमा आधारित दैनिक तथा साप्ताहिक पेशी, अनलाईनबाट म्याद तामेली र टेली-सोधपुछ सेवाहरू समेत प्रदान भइरहेका छन्। सेवाग्राहीको सुविधाका लागि मेलमिलाप केन्द्र, प्रतिक्षालय, थुनुवा कक्ष, स्तनपान कक्ष र बाल इजलासको व्यवस्था समेत अदालतले गरेको छ।



















प्रतिक्रिया