१३ भदौ, नुवाकोट । जिल्ला बजार अनुगमन समितिको बैठकले बजार अनुगमनलाई थप प्रभावकारी बनाउने चार निर्णयहरू गरेको छ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंको संयोजकत्वमा बसेको बैठकले नियमित बजार अनुगमन कार्यलाई व्यवस्थित बनाउन वार्षिक कार्ययोजना तयार गरी आगामी बैठकबाट कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।
यसले अनुगमन कार्यलाई थप योजनाबद्ध र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको जिल्ला बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी हुमागाईंले बताए ।
साथै, बजार अनुगमनलाई उपभोक्ता सचेतनासँग जोड्दै यस कार्यलाई थप प्रभावकारी बनाउन स्थानीय तहसँग समन्वय गर्ने निर्णय पनि भएको छ। यसबाट उपभोक्ताको हकहित संरक्षणमा स्थानीय सरकारको भूमिकालाई अझ बढी सक्रिय बनाइनेछ।
समितिले कम्तीमा महिनाको एकपटक अनिवार्य रूपमा बजार अनुगमन गर्ने निर्णय गरेको छ। यो निर्णयले बजारमा हुने अनियमिततालाई नियन्त्रण गर्न र उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउन मद्दत पुग्नेछ।
यसैगरी, आगामी चाडपर्वहरूलाई लक्षित गरी गरिने बजार अनुगमन कार्यमा पनि स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्ने निर्णय गरिएको छ। यसले चाडपर्वको समयमा हुन सक्ने कालोबजारी, मूल्यवृद्धि र मिसावटलाई रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
यी निर्णयहरूले बजार अनुगमन प्रणालीलाई अझ बढी पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउने लक्ष्य लिएको समितिका सदस्य सचिव तथा उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटका प्रमुख सिताराम घिमिरेले बताए।

प्रतिक्रिया