+
Search

ताजा अपडेट +

पपुलर +

फेरि फर्कियो कोभिड, तर चेतना अझै मृत छ

Covid is back, but consciousness is still dead by dr Aman Neupane
डबली खबर
१० महिना अगाडी

हामीले कोभिड बिर्सिसकेका थियौं, होइन त?

मास्क झोलाको कुनामा थन्किएको महिनौं भइसक्यो, साबुनपानी र स्यानिटाइजरको सम्झना अब पोस्टरको कुनामा मात्र सीमित छ। रुघाखोकी भए पनि अब हामी “केही हैन होला” भन्दै लापरबाहीका साथ भिडमा हिँड्छौं। तर भाइरसहरू हामीजस्तै भुलक्कड छैनन् , तिनीहरू मौन बस्दैनन्।

यसै साता मंगलवार विराटनगरमा एक महिलाको कोभिड संक्रमणका कारण मृत्यु भयो। समाचार त आयो तर देश हल्लिएन। किनभने हामी अब डराउँदैनौं- होइन? डर थाकिसकेको छ, समवेदना थाकिसकेको छ। तर भाइरस? त्यो अझै जीवित छ, अझै फैलिँदै छ।

गएको माघयता क्रमशः बढ्दै गएको संक्रमण अहिले गम्भीर मोडमा पुगेको छ। संक्रमितको संख्या १९६ नाघिसकेको छ र भारतमा महामारी दोहोरिँदा हामी सुरक्षित रहनेछौं भन्ने सोच विज्ञानसँग मेल खान्न। किनभने भाइरसहरू पासपोर्ट झिकेर सिमाना नाघ्दैनन् , तिनीहरू हाम्रो बेपरवाही चिहाउने गर्छन्।

प्रश्न उठ्छ — हामी तयार थियौं त?

अघिल्ला लहरहरूले दिएको पीडाबाट केही सिक्यौं त?

आज पनि हामी भिडमा मास्क बिना हिँडिरहेका छौं, लक्षण देखिए पनि चिकित्सक हैन, फेसबुक सर्च गरिरहेका छौं। यो कुनै आत्मविश्वास होइन , यो जोखिमप्रतिको लापरवाही हो।

सरकारले अपिल गरिरहेको छ मास्क लगाउनुस्, साबुन–पानी प्रयोग गर्नुस्, लक्षण देखिएमा स्वास्थ्यकर्मीको सल्लाह लिनुस्। तर त्यो अपिल रेडियो, टिभी र पोस्टरमा मात्र गुञ्जिरहेको छ- हाम्रो चेतनामा होइन। हामी त अब त केही हुँदैन भन्ने सोचमै रमाइरहेका छौं।

तर अब पनि नबुझ्यौं भने भोलि दुःखद खबर फेरि आइरहन्छ। आज एक जनाको ज्यान गयो, भोलि पाँच जना नजाने ग्यारेन्टी छैन। विशेष गरी दीर्घरोगी, वृद्धवृद्धा, खोप नलगाएकाहरू अझै पनि उच्च जोखिममा छन्।

सजगता भनेको डर हैन ,बाँच्नका लागि जिम्मेवारी हो। कोभिड फेरि फर्किएको छ -यो पटक एक चेतावनी बनेर। अब पनि नसच्यौं भने परिणाम फेरि हामीले नै भोग्नुपर्नेछ – उपचारमा हैन, अपसोचमा।

सरकारले गरुन् वा नगरुन्, अब सजगताको जिम्मा हाम्रै काँधमा छ। शब्दको सस्तो बहस होइन, व्यवहारको जिम्मेवारी चाहिएको बेला हो यो। सजगता भनेको डर होइन, बाँच्ने अभ्यास हो।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ