+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा साकोस अभियानलाई सुरक्षित बनाउन ‘स्क्यान’ अभिमुखीकरण सम्पन्न

डबली खबर
१४ मिनेट अगाडी

१४ वैशाख, विदुर । नुवाकोट जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरूलाई थप व्यवस्थित, सुरक्षित र दिगो बनाउने उद्देश्यका साथ शनिबार एक विशेष सहकारी अनुशिक्षण तथा नियमित निरीक्षण अनुगमन कार्यक्रम (स्क्यान) अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहकार्यमा सञ्चालित कार्यक्रमले जिल्लाको सहकारी अभियानमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

पछिल्लो समय सहकारी क्षेत्रमा बढ्दै गएका विभिन्न चुनौती र कानुनी जटिलताहरूलाई चिर्दै सदस्यहरूको बचतलाई पूर्ण रूपमा सुरक्षित राख्न यस्ता प्राविधिक कार्यक्रमहरूको भूमिका महत्त्वपूर्ण हुने देखिन्छ।

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले बदलिँदो कानुनी व्यवस्था र वित्तीय क्षेत्रमा आउन सक्ने सम्भावित जोखिमहरूलाई मध्यनजर गर्दै साकोस अभियानलाई सुरक्षित र दिगो रूपमा अगाडि बढाउन ‘स्क्यान’ कार्यक्रम अनिवार्य भएकोमा जोड दिए । उनले सहकारी अभियानको साख बचाउन र यसलाई थप विश्वसनीय बनाउन सबै संस्थाहरूलाई यस प्रक्रियामा समेट्नुपर्ने र साकोस अभियान पूर्णतः सुरक्षित रहेको कुरा व्यवहारबाटै प्रमाणित गर्नुपर्ने बताए । अध्यक्ष ढकालले यस अभियानको सफल कार्यान्वयनका लागि सबै सरोकारवाला निकायहरूबाट पूर्ण सहयोग मिल्नेमा आफू विश्वस्त रहेको समेत उल्लेख गरेका थिए ।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष नारायण श्रेष्ठले जिल्लाका सहकारीहरूलाई सक्षम बनाउन संघले सधैं अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले स्क्यान कार्यक्रमको प्रभावकारी कार्यान्वयनले संस्थाहरूको आन्तरिक सुशासन र वित्तीय स्वास्थ्य मजबुत पार्ने बताउँदै नुवाकोटका साकोसहरूलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन कुनै पनि कसर बाँकी नराख्ने स्पष्ट पारेका थिए ।

कार्यक्रममा जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष शिवप्रसाद अधिकारी र जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष इन्द्रमणि गैरेले पनि स्क्यान कार्यक्रमलाई सफल बनाउन आ-आफ्नो तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने ऐक्यवद्धता जनाएका थिए ।

अभिमुखीकरण कार्यक्रमको सहजीकरण नेफ्स्कूनका विज्ञ सौभाग्य भट्टराईले गरेका थिए । उनले स्क्यान कार्यक्रमको आवश्यकता, यसको ऐतिहासिक विकास र कार्यान्वयनका प्राविधिक पक्षहरूबारे विस्तृत जानकारी गराएका थिए ।

कार्यक्रममा जिल्लाभरका विभिन्न १७ वटा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापकहरू गरी कुल ३० जनाको सक्रिय सहभागिता रहेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ