१५ वैशाख, नुवाकोट । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाभित्र चुलिएको आर्थिक संकट समाधानको माग गर्दै संस्थाका सचिव रघुनाथ रिमाल विदुर नगरपालिकाको कार्यपालिका भवन परिसरभित्रै अनसनमा बसेका छन् ।
‘विदुर खानेपानी बचाउ अभियान’ मार्फत संस्थाको अस्तित्व रक्षाका लागि भन्दै रिमालले सुरु गरेको सत्याग्रहले जिल्लाको राजनीतिक र सामाजिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ।
लामो समयदेखि आर्थिक बोझले थिचिएको संस्थालाई जोगाउन सचिव रिमालले मुख्य तीनवटा माग अघि सारेका छन् । उनले विशेषगरी विदुर नगरपालिका वडा नं. ५ मा देखिएको खानेपानीको चरम समस्या, लामो समयदेखि उठ्न बाँकी रहेको महशुल र पानीको बढ्दो दुरुपयोगलाई तत्काल नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् ।
संस्थाको नगर विकास कोषको करिब २८ करोड रुपैयाँ ऋण कसरी व्यवस्थापन गर्ने भन्ने विषय अहिले सबैभन्दा पेचिलो बनेको छ। सचिव रिमालले संस्था निरन्तर घाटामा गएर धराशायी हुने अवस्थामा पुगेको भन्दै यसलाई जोगाउन सबै सरोकारवाला पक्षहरूबीच अविलम्ब सर्वपक्षीय छलफल हुनुपर्ने माग गरेका छन् ।
यद्यपि, नागरिकको घरदैलोमा जोडिएको यति संवेदनशील विषयमा बसेको अनसनलाई सम्बोधन गरी निकास निकाल्नुको साटो स्थानीय सरकारका तर्फबाट अनौठो प्रतिक्रिया आएको छ। विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले अनसनकारी रिमालका मागहरू सुन्नुको सट्टा उल्टै उनीसँगै थप माग राखेकी छिन् । उपप्रमुख बोगटीले विदुर वडा नं. १ त्रिशूलीमा देखिएको पानीको समस्या समाधान गरी उचित वितरणको प्रबन्ध मिलाउन सचिव रिमाललाई नै आग्रह गरेपछि अनसन थप पेचिलो बनेको छ।
संस्थाका पदाधिकारी नै अनसनमा बसेपछि खानेपानीको दैनिक व्यवस्थापन र संस्थाको भविष्यलाई लिएर आम उपभोक्ताहरू भने चिन्तित देखिएका छन्। स्थानीय प्रशासन र नगरपालिकाले यो संकट समाधानका लागि कस्तो कदम चाल्छ भन्ने कुरा अहिले प्रतिक्षाको विषय बनेको छ। आन्दोलनकारी पक्षले भने आफ्ना मागहरू पुरा नभएसम्म सत्याग्रह नरोकिने अडान लिएका छन्।
संस्थाका अध्यक्ष संजिवबहादुर श्रेष्ठले भने आफुलाई थाहानै नदिई व्यक्तिगत रुपमा अनसन बसेको जानकारी दिए । संस्थाका समस्या र समाधानमा विदुर नगरपालिका सदैव अभिभाकत्वको भूमिकामा रहेको हुनाले बैठकबाट निकास लिनुपर्नेमा यसरी व्यक्तिगत रुपमा अनसन बस्नु नहुने उनले बताए ।
प्रतिक्रिया