+
Search

ताजा अपडेट +

पपुलर +

नयाँ टाटा सफारी बजारमा

The-all-new-Tata-Safari-in-Nepal-scaled
डबली खबर
१ साल अगाडी

१ फागुन, काठमाडौँ । सिप्रदी ट्रेडिङ्ग प्रालिले प्रिमियम एसयूभी नयाँ टाटा सफारी नेपाली अटो बजारमा सार्वजनिक गरेको छ ।

सात सिट क्षमताको यस आरामदायी गाडीलाई सिप्रदीले ‘उत्कृष्ट कार्यक्षमता र अत्याधुनिक प्रविधिको बेजोड सम्मिश्रण’ भनेको छ । शक्तिशालि एवं आकर्षक एसयूभी रुचाउने ग्राहकहरुलाई नयाँ सफारीले आकर्षित गर्ने कम्पनीले जनाएको छ ।

ल्याण्ड रोभरको डी–८ प्लेटफर्ममा आधारित एवम् ओमेगा–आर्क आर्किटेक्चरमा तयार पारिएको यस गाडीको डिजाईन कार्यक्षमताको दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीको दाबी छ ।

नेपाली ग्राहकहरुको बदलिँदो आकांक्षा एवम् जीवनशैलीसँग मेल खाने भनेर कम्पनीले यस गाडीको महत्व दर्शाएको छ ।

कम्पनीका अनुसार नयाँ टाटा सफारीमा डुअल–जोन पूर्ण स्वचालित एयर कन्डिसनिङ, मेमोरी र वेलकम सुविधा उपलब्ध छ । त्यस्तै ६ तरिकाले समायोजन गर्न मिल्ने ड्राइभर सिट र अगाडि भेन्टिलेटेड सिट जस्ता विशेषताहरु उपलब्ध रहेका छन् ।

त्यसैगरी, टाटा सफारीको यस नयाँ मोडेलमा १२.३० इन्चको हर्मन टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ९ वटा जेबिएल स्पिकर (४ स्पिकर + ४ ट्वीटर + सब–उफर), मुड लाइटिङसहितको भ्वाइस असिस्टेड प्यानोरामिक सनरूफ र ११ वटा प्रमुख विशेषता सहितको एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) लगायतका सुविधाहरु यस गाडीमा उपलब्ध छन् ।

सुरक्षामा ग्लोबल एनक्यापबाट ५ तारे (फाइभ स्टार) रेटिङ्ग प्राप्त गरेको नयाँ टाटा सफारी नेपाली बाटोको लागि सुरक्षित रहेको सिप्रदीले जनाएको छ ।

यस्तै, ३६० डिग्रीको ‘सराउन्ड भ्यू’ सिस्टम, वायरलेस चार्जर, अटो होल्ड फिचर सहितको इलेक्ट्रोनिक पार्क ब्रेक, जेस्चर कन्ट्रोल्ड पावर्ड टेलगेट, ७ वटा एयरब्याग रहेको नयाँ टाटा सफारीको शुरुवाती मूल्य १ करोड २१ लाख ९९ हजार रहेको छ ।

सिप्रदीको नेपालभर रहेका टाटा मोटर्सका शो–रुमहरु मार्फत नयाँ सफारी अवलोकन तथा टेस्ट ड्राइभको लागि उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ